कांग्रेसद्वारा ओलीको अध्यादेश ठाडै अस्वीकार, तनाबमा बालुवाटार

काठमाडौं । नेपाली कांग्रेसले कम्युनिस्ट सरकारद्वारा ल्याइएको अध्यादेशको विरोध गर्दै अधिनायकवादी काम भनेर कडा टिप्पणी गरेको छ ।

कांग्रेसका उपसभापति विमलेन्द्र निधिले ट्वीट गर्दै प्रधानमन्त्री खड्गप्रसाद ओलीको सरकारद्वारा ल्याइएको संवैधानिक परिषदको बैठक सञ्चालनसम्बन्धी कार्यविधिको अध्यादेशको विरोध गरेका हुन् ।

‘आज अचानक आएको संवैधानिक परिषदसम्बन्धी अध्यादेश सर्वसत्तावादी र अधिनायकवादी काम हो’, निधिले भनेका छन्, ‘संविधान र प्रणालीमाथि नाङ्गो आक्रमण हो । घोर भर्त्सना गर्दछु । यो अध्यादेश स्वीकार्य हुँदैन ।’

कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले पनि अध्यादेशका विषयमा पार्टीमा आन्तरिक रुपमा छलफलपछि मात्रै सभापति शेरबहादुर देउवा परिषदको बैठकमा जाने वा नजाने निर्णय हुने बताएका छन् । उनले अध्यादेशको विरोध गरेका छन् ।

नेकपाका नेता जनादर्शन शर्माले पनि अध्यादेश फिर्ताको माग गरेका छन् । उनले भनेका छन्, ‘फेरि अध्यादेश ! सत्ता स्वार्थको परकाष्ठा किन ? छलफल सहमतिको सहज प्रक्रियाको सट्टा असहज प्रक्रियाको सहारा भनेको असफलताको बाटो बाहेक केही हुन सक्दैन । हतास मनस्थितिबाट मुक्त होऔँ ! अध्यादेश फिर्ता गर ।’

संवैधानिक परिषदको बैठक सञ्चालनसम्बन्धी कार्यविधि अध्यादेश जारी भएसँगै राजनीति तरंगित बनेको छ ।

प्रधानमन्त्री ओलीको सरकारले ल्याएको अध्यादेशलाई कांग्रेसले अस्वीकार गरिदिएको छ । अध्यादेश जारी भएपछि ओली पार्टी र सरकारमा झन् एक्लिएका छन् ।

ओलीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले पनि साथ दिएकी छिन् । सभामुख सापकोटा परिषदको बैठकमा नगएर बहिस्कार गरेपछि तनावको अवस्था सिर्जना भएको छ ।

ओलीले असहयोग भएको भन्दै संसदीय दलका प्रमुख सचेतक देव गुरुङको राजीनामा पनि मागेका छन् । प्रचण्डलाई फोन गरेर ओलीले राजीनामाका लागि दवाव दिएका छन् ।

ओलीले अधिनायकवादी शैलीमा अध्यादेश जारी गरेर संविधानमाथि नै धावा बोलेको भनेर आलोचना भएको छ ।

Published : Tuesday, 2020 December 15, 3:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया