गृहमन्त्रीको छोरो लुटेराको नाइके, अग्नि सापकोटाको निर्देशनमा प्रहरीको हत्याः कांग्रेस नेता बस्नेत
बलेफी । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री मोहनबहादुर बस्नेतले कांग्रेस भएकै वा कांग्रेसमा प्रवेश गरेकै कारण नेकपा वा राप्रपाबाट धम्कीपूर्ण भाषा बोल्न थाले भने त्यसको जवाफ आफू एक्लैले दिने चेतावनी दिएका छन् ।
सिन्धुपाल्चोक जिल्लाको बलेफी गाउँपालिकामा शनिबार आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै बस्नेतले कांग्रेसका कार्यकर्ताहरूलाई कसैले पनि धम्की दियो भने त्यसको परिणाम नराम्रो हुने चेतावनी दिए ।
‘कांग्रेसमा प्रवेश गरेका कारण नेकपा वा राप्रपाबाट कसैले धम्की दियो भने, स्थानीय समिति छदैछ । समस्या भयो भने तपाई साथीहरूले मलाई सिधै सम्पर्क गर्नु होला’, उनले भने, ‘मेरो फोन नम्बर ९८५१०२५९१७ हो । धाक–धम्कीपूर्ण व्यवहार हुन थाल्यो भने त्यसको औषधि छ । सबै साथीहरूलाई दुःख दिन्न । म एक्लै काफी छु ।’
खेलकुद विभागका प्रमुख समेत रहेका नेता बस्नेतले नेकपाको सरकार बनेदेखि जनताले एउटा पनि राम्रो काम भएको सुन्न नपाएको बताए । नेकपाको सरकार झण्डै दुईतिहाइको हुँदा पनि त्यस पार्टीका नेता कार्यकर्ताहरू कांग्रेसमा प्रवेश गरिरहेको उनले बताए ।
‘यो देशमा यस्तो स्थिति आइलाग्यो, नेतादेखि त्यो पदमा बसेका दुई–चार जना भुइँफुट्टा कार्यकर्ताहरूसम्मले सरकारी पैसाको दोहोन गरेर गर्न छाडेका छैनन्’, कांग्रेस नेताले कम्युनिस्टहरूलाई नङ्ग्याउँदै भनेका छन् ।
उनले भने, ‘हामी बलेफी मन्दिरको अगाडि बोलेका छौँ । हामीले बोलेको कुरा सत्य हो । हामी आस्तिक पनि हौँ । यही बलेफी गाउँपालिकामा, यहाँको बालुवा, ढुंगा, गिट्टी लाखौँ लाखको बेच्दा कर तिरेको छैन । ओसी सबै नक्कली छ । अहिले अख्तियारमा केस परेको छ । लामो कुरा किन गर्नु ?’
स्थानीय तहदेखि केन्द्रसम्म सरकार भ्रष्टाचारले डुङ्डुङती गन्हाइरहेको कांग्रेस नेता बस्नेतले आरोप लगाए । नेकपाकै कार्यकर्ताहरू निरास भएर कांग्रेसमा प्रवेश गरिरहेको उनले बताए ।
उनले भनेका छन्, ‘जनताका सामु विकास निर्माण लिएर जाने पार्ने कांग्रेस हो । लोकतन्त्र बनाउने पार्टी कांग्रेस हो ।’
कांग्रेस नेता बस्नेतले कोरोना महामारीका बेला वीर र टिचिङ अस्पतालमा स्वास्थ्य सामग्री वितरण गर्न नसकीरहेका बेला सिन्धुपाल्चोकमा कांग्रेसले स्वास्थ्य सामग्रीहरू वितरण गरेको बताए । उनले भने, ‘सरकार जनतासँग हुनु पर्ने थियो । यो सरकार भ्रष्टाचार गर्नतिर धेरै लाग्यो । १३ रुपियाँमा पाइने सर्जिकल मास्क सरकारले ५२ रुपियाँमा किनेको छ । बिल धेरै भनाएर पैसा खाएका छन् ।’
‘यो देशमा गृहमन्त्रीको छोरो लुटेराको नाइके छ । यो देशमा जहाँ–जहाँ बलात्कार भएको छ, यो देशमा जहाँ–जहाँ लुट भएको छ, चोरी भएको छ, डकैती भएको छ, अनुसन्धान गर्दै जाँदा नेकपाका नेता कार्यकर्ता परेका छन्’, कांग्रेस नेता बस्नेतले भनेका छन्, ‘त्यस कारणले निर्मला पन्तका हत्यारा सार्वजनिक भएन । यो देशको तत्कालीन रक्षा मन्त्रीले छ दिनभित्र निर्मला पन्तको हत्यारा सार्वजनिक गर्छौं । छाता ओढाउन कोइपनि नआउनु भनेका थिए । छ दिन होइन, छ महिना पुग्दा पनि निर्मलाका हत्यारा कहाँ गए ? भुतपूर्व रक्षामन्त्रीजी तपाईहरूको लठैत परेको छ भएपनि सार्वजनिक गर्नुस् । छाता ओढाउन कोइपनि आउँदैन ।’
‘वाइड बडी जहाज खरिद प्रकरणमा चार अरब भ्रष्टाचार भयो भनेर सार्वजनिक लेखा समितिले अख्तियारमा मुद्धा पेश गर्यो । अख्तियारको प्रमुखलाई छानविन गर्न दिएन । अख्तियार अहिले केपी ओलीको संरक्षक बनेर बसेको छ ।’, नेता बस्नेतले भनेका छन् ।
उनले भने, ‘सर्वोच्च अदालतलाई मनपरि ढंगले प्रयोग गरिरहेको कुरा मैले भनेको होइन । अध्यक्ष प्रचण्डजीले भनिरहनुभएको छ । यो देशमा भ्रष्टाचार, अन्या, अत्याचार भएको छ । लोकतन्त्र हराउन लागेको छ भनेर प्रचण्डजीले भन्नुभएको छ ।’
कांग्रेस नेता बस्नेतले ओलीलाई प्रधानमन्त्री छाड्न सुझाव दिए । उनले भने, ‘ओलीको राजीनामा मागेको कांग्रेस सरकारमा जान होइन । हामी सरकार बाहिर बस्छ । कम्युनिस्टहरूले गरेको भ्रष्टाचार र खकार सफा गर्न कांग्रेस सरकारमा जाँदैन ।’
कांग्रेस नेता बस्नेतले वरिष्ठ नेता रामचन्द्र पौडेललाई गुण्डा लगाएर ओली सरकारले कुटपिट गर्नुका साथै दुर्व्यवहार गरेको बताए ।
‘नेपालमा जनयुद्धका नाममा सबैभन्दा पहिला कोही मारिएको थियो । त्यो कुभिण्डेमा मारिएको थियो । सभामुख अग्नि सापकोटाको निर्देशनमा मारिएको थियो’, नेता बस्नेतले भने, ‘त्यस्तो बेला लडेको भिडेको पार्टी नेपाली कांग्रेस मात्रै हो । यीहरूकै कान्छो भाइ विप्लवको नाममा जंगल पसेको छ । लुटेको छ । काटेको छ । मान्छे मारेको छ ।’
कांग्रेस बलियो भयो भने मात्रै लोकतान्त्रिक पद्धति बलियो हुने उनले बताए । उनले कांग्रेस कमजोर हुँदा देश कमजोर हुने बताए ।
कार्यक्रममा कांग्रेस नेता बस्नेतले नेकपा र राप्रपाका एक सयभन्दा धेरै नेता तथा कार्यकर्ताहरूलाई पार्टीमा प्रवेश गराएका छन् ।
फेसबुकबाट तपाईको प्रतिक्रिया