सरकार विरोधी कार्यक्रमको दुई दिन पहिला कांग्रेसको आकस्मिक बैठक

काठमाडौं । नेपाली कांग्रेसले पूर्व केन्द्रीय सदस्य एवम् प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनप्रति गहिरो दुःख व्यक्त गरेको छ ।

ललितपुरको सानेपामा शनिबार बसेको आकस्मिक केन्द्रीय कार्यसमितिको बैठकले श्रेष्ठको निधनबाट पार्टी स्तब्ध र मर्माहत भएको निर्णय गरेको छ ।

काठमाडौं कांग्रेसका पूर्व सभापति समेत रहेका ८० वर्षीय श्यामलाल श्रेष्ठको मंसिर २६ गते काठमाडौंमा निधन भएको थियो ।

कांग्रेसले श्रेष्ठको शोकमा मंसिर २६, २७ र २८ गते तीन दिनसम्म पार्टीको केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको विज्ञप्तिमा उल्लेख छ ।

कांग्रेसले मंसिर २८ गते आइतबारका दिन केन्द्र तथा जिल्लाका सबै कार्यालयहरू बन्द गर्ने निर्णय गरेको छ ।

कांग्रेसले स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयहरूमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ ।

स्वर्गारोहणको १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक (सामाजिक) दुरी कायम गर्दै शोक सभाको आयोजना गर्ने निर्णय भएको विज्ञप्तिमार्फत जनाइएको छ ।

सरकारविरुद्धको प्रदर्शन गर्ने तयारी गरिरहेका बेला पूर्व केन्द्रीय सदस्य श्रेष्ठको निधन भएपछि शनिबार बैठक बसेर मंसिर २९ गतेको पूर्वनिर्धारित कार्यक्रमलाई यथावत राख्ने निर्णय कांग्रेसले गरेको छ ।

Published : Saturday, 2020 December 12, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया