फागुन आयो, खोइ समिति र उप–समितिहरू बनेको ?

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.मीनेन्द्र रिजालले सभापति शेरबहादुर देउवालाई गाली गरेर १४औँ महाधिवेशन समयमा गर्न नसकिने बताएपछि पार्टीभित्र नयाँ तरंग उत्पन्न भएको छ ।

सभापति देउवाप्रति डा.रिजालले देखाएको सहानुभूति र समर्थनले बुढानिकलण्ठलाई केही सहज भएको छ । विगतमा देउवाकै कारणले कांग्रेसको केन्द्रीय कार्यसमितिमा परेका डा.रिजाललाई देउवाले नै मन्त्री बनाइदिएका थिए । कुन स्वार्थले हो देउवालाई छाडेर वरिष्ठ नेता रामचन्द्र पौडेलको गुटमा प्रवेश गरेका डा.रिजालले देउवालाई गाली गरेरभन्दा पनि फकाएर महाधिवेशन गर्न मनाउनुपर्ने बताउन थालेका छन् ।

डा.रिजालले एउटा टेलिभिजनसँगको अन्तर्वार्तामा देउवालाई सभापतिको उम्मेदवार बन्न निषेध गरेर जाने पक्षमा आफू नरहेको बताएका छन् । उनले सभापति वा अन्य पदहरूमा उम्मेदवार बन्ने सबैलाई बराबरीको हक रहेको बताएका छन् ।

डा.रिजालले दिएको मध्यमार्गी धारणाले कांग्रेसमा सुधार आउने हो कि भन्ने संकेत आएको छ । फागुनमा १४औँ महाधिवेशन नहुने पक्का जस्तै भएको छ । केही दिने अगाडिसम्म महाधिवेशन फागुनमै हुन्छ कि भन्ने धेरै कांग्रेसीहरूलाई आशा थियो । अब त्यो आशा हराएर गएको छ । महाधिवेशन २०७८ को वैशाख महिनाभन्दा अगाडि हुने सम्भावना देखिएको छैन । कोरोना र आन्तरिक तयारी नपुगेका कारण महाधिवेशन वैशाख अगाडि हुने कुनै छाँटकाँट छैन ।

महाधिवेशनका लागि आवश्यक पर्ने तयारी समिति र उप–समितिहरू बनाउनुपर्नेमा अहिलेसम्म बन्न सकेको छैन । महाधिवेशन गर्नका लागि कम्तिमा तीन महिना अगाडि नै तयारी समिति र उप–समितिहरू बनाउनुपर्छ । कांग्रेसको केन्द्रीय कार्यसमितिले समितिहरू बनाउन ध्यान दिएको छैन । महाधिवेशन गर्न आर्थिक, खानपान, बसोबास, मस्यौदा लेखन, मञ्च व्यवस्थापनलगायतका एक दर्जनभन्दा धेरै समिति र उप–समितिहरू बनाउनुपर्छ ।

कांग्रेसको सबैभन्दा ठूलो काम भनेको क्रियाशील सदस्यता वितरणको काम पनि हुन सकेको छैन । जिल्लाहरूमा क्रियाशील सदस्यता वितरणमा समस्या देखिएको छ । आफू निकटका कार्यकर्ताहरूलाई क्रियाशील सदस्यता बनाउने होडबाजीमा तोकिएको समयभित्र काम पूरा हुन सकिरहेको छैन । जिल्लाहरूले क्रियाशील सदस्यताको फारम केन्द्रमा पठाएपछि छानविन गर्न कम्तिमा एक महिना लाग्न सक्छ । कांग्रेसले रमेश लेखकको संयोजकत्वमा क्रियाशील सदस्यता छानविन समिति बनाउने तयारी गरेको छ ।

महाधिवेशन आउँदै गर्दा विमलेन्द्र निधि, डा.शशांक कोइराला, प्रकाशमान सिंह, डा.शेखर कोइरालालगायतका नेताहरूले आफूलाई सक्रिय बनाइरहेका छन् । उनीहरूले आफ्ना गुटहरूलाई बलियो बनाउन खोजिरहेका छन् । वरिष्ठ नेता पौडेलले सभापतिमा उम्मेदवार बन्ने वा नबन्ने भन्ने विषयमा औपचारिक रुपमा घोषणा गरेका छैनन् ।

देउवाले पनि सभापतिमा औपचारिक घोषणा गरेका छैनन् । तैपनि देउवा र पौडेलले अन्तिम समयमा उम्मेदवारी घोषणा गर्न सक्ने धेरैको अनुमान छ । देउवा आफू सभापतिमा उम्मेदवार बन्न पाएनन् भने वीपी कोइरालाका छोरा डा.शशांक कोइरालालाई सभापतिमा सहयोग गर्न सक्ने सम्भावना पनि उत्तिकै छ ।

Published : Friday, 2020 December 11, 8:31 am

फेसबुकबाट तपाईको प्रतिक्रिया