विनाशकारी किरा सलह नष्ट गर्न कांग्रेसको माग

काठमाडौं । नेपाली कांग्रेसका पद्मनारायण चौधरीले विनाशकारी किरा सलहको नियन्त्रण र रोकथामका लागि कम्युनिस्ट सरकारसँग आग्रह गरेका छन् ।

चौधरीले आइतबार विज्ञप्ति जारी गरेर सलहको रोकथामका लागि सुझाव दिएका हुन् । उनले नेपाल सरकारका सम्बन्धित निकायबाट यस विनाशकारी किरा नेपालमा प्रवेश गर्ने कम सम्भावना रहेको भन्दै प्रभावकारी ढंगले पूर्व तयारी नगरेकोप्रति गम्भीर आपत्ति जनाएका छन् ।

कांग्रेसका सांसद समेत रहेका चौधरीले सरकारको यस किसिमको उदासीन प्रवृत्तिले नेपालीलाई एकपछि अर्को आघात पुगेको बताए ।

‘सलह किराबाट हुने सम्भावित क्षतिलाई मध्यनजर गर्दै उक्त किराको रोकथाम तथा नष्ट गर्नको लागि सरकारबाट आवश्यक कदम चाल्नुका साथै क्षति न्यूनीकरणका लागि गम्भीर हुन जोडदार माग गर्दछौं’, विज्ञप्तिमा भनिएको छ ।

तराई क्षेत्रमा सलह किरा प्रवेश गरिसकेको छ । यो किरा तराई क्षेत्रबाट पहाडका जिल्लाहरूमा पनि पुग्ने क्रम बढिरहेको कांग्रेसले जनाएको छ ।

करोडौं संख्याको समूहमा उड्ने सलह किराले हरियो वनस्पतिलाई तीब्र रुपमा सखाप पार्ने गर्दछ ।

किराले अन्नबालीलाई क्षति पुर्‍याएर भविष्यमा भोकमरीलाई निम्त्याउने उच्च खतरा रहेको छ ।

मुलुक कोरोना महामारीसँग जुधिरहेकोे अवस्थामा सलह किराको आक्रमण अर्को चुनौतीका रुपमा आइसकेको कांग्रेसले जनाएको छ ।

‘असामन्य रुपमा यसले बालीनालीलाई क्षति पुर्‍याउने हुँदा हामीले अर्को क्षति व्यहोर्नु पर्ने प्राय निश्चित छ’, कांग्रेस नेता चौधरीद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

Published : Sunday, 2020 June 28, 8:00 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया