नर्भिकमा १ सय ६८ किलोकी महिलाले जन्माइन स्वस्थ शिशु, डा.शर्माको टिमले बनायो रेकर्ड

काठमाडौं । नेपालकै प्रसुति इतिहासमा पहिलो पटक १ सय ६८ किलो तौल भएकी काठमाडौं निवासी एक महिलाले स्वस्थ बच्चा जन्माएकी छिन् ।

काठमाडौंको थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटलमा असार १० गते काठमाडौं कलंकी निवासी मेरिना हमालले शल्यक्रियामार्फत २ दशमलव ९५ किलो तौल भएकी शिशुलाई जन्म दिएकी हुन् । वरिष्ठ स्त्रीरोग तथा बाँझोपन विशेषज्ञ एवम् ल्याप्रोस्कोपिक सर्जन डा.नुतन शर्माले सफलतापूर्वक ती महिलाको शल्यक्रियात्मक प्रसुति गरेकी हुन् ।

नवजात शिशु र आमाको अवस्था सामान्य रहेको नर्भिक अस्पतालले जनाएको छ । डा. शर्माको नेतृत्वको चिकित्सकीय टोलीले करीब एक घण्टा १० मिनेट लगाएर शल्यक्रिया गरेको थियो ।

असाधारण तौल र शारीरिक बनावटका कारण निकै कठिन भएपनि उच्च सावधानिपूर्वक ती महिलाको शल्यक्रियामार्फत प्रसुति गराइएको डा.शर्माले बताइन् ।

सामान्यतः यति ठूलो तौल र शारीरिक बनोट भएका महिलाको शल्यक्रियामार्फत प्रसुति गराउनु आफैमा निकै कठिन हुने चिकित्सकहरूको भनाई छ ।

नेपालकै प्रसुति इतिहासमा १ सय ६८ किलो तौल भएकी महिलाको शल्यक्रियात्मक प्रसुति गराइएको यो पहिलो रेकर्ड हो ।

डा.शर्माले गर्भाधानको शुरुवाती अवस्थादेखि नै ती महिलालाई उच्च जोखिम समूहमा राखेर उपचार गर्दै आएको बताइन् ।

‘यो सफलताले केवल मोटोपन मात्रै गर्भाधानको बाधक हुन सक्दैन भन्ने देखाएको छ’, डा. शर्माले भनिन्, ‘जटिल र जोखिम अवस्थालाई पनि आधुनिक प्रविधि र दक्षताले सम्भव गराउन सकिन्छ भन्ने प्रमाणित गरेको छ ।’

लामो समयदेखि बाँझोपनको क्षेत्रमा उच्च जोखिमयुक्त बिरामीको उपचार गर्दै आएकाले पनि जटिल र जोखिमयुक्त प्रसुति सेवालाई सफलतापूर्वक व्यवस्थापन गर्न सकिएको डा. शर्माले बताइन् ।

नर्भिक अस्पतालले नेपालकै पहिलो रेकर्डका रुपमा रहेको जटिल खाले शल्यक्रियात्मक प्रसुति गराउन सफलता प्राप्त गरेकोमा डा. शर्मालाई बधाई दिँदै नवजात शिशु र आमाको स्वास्थ्य लाभको कामना गरेकी छिन् ।

Published : Saturday, 2020 June 27, 8:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया