ओलीजी पार्टीको बैठक बहिस्कार होइन, कांग्रेससँग संस्कार सिक्नुस्ः रामहरि खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरूले लोकतान्त्रिक संस्कार सिक्नका लागि अझै धेरै तयारी आवश्यक रहेको टिप्पणी गरेका छन् ।

शुक्रबार साँझ रिपब्लिका दैनिकसँगको सम्वादमा खतिवडाले कम्युनिस्टहरूले जति धेरै ठूला कुरा गरेपनि लोकतन्त्रवादी हुन नसक्ने बताए । उनले कम्युनिस्टहरू भनेका अधिनायकवादी नै रहेको बताए ।

बालुवाटारमा शुक्रबार बसेको सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी समितिको बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष खड्गप्रसाद ओली अनुपस्थित हुनु आन्तरिक लोकतन्त्रको अभावको संज्ञा दिए । उनले नेकपा र ओलीलाई कांग्रेसबाट प्रजातान्त्रिक अभ्यास सिक्न सुझाव दिएका छन् ।

उनले भने, ‘कांग्रेसमा वादविवादहरू भइरहन्छन् । ती विवादलाई कांग्रेसले लोकतान्त्रिक माध्यमबाट समाधान गरेको छ । कांग्रेसको लोकतान्त्रिक संस्कारलाई कम्युनिस्टहरूले पनि सिक्न जरुरी छ ।’

‘नेकपाभित्रको आन्तरिक विषयमा टिप्पणी गर्नु उचित होइन । तर, नेकपा मुलुकको ठूलो राजनीतिक दल हो । सरकारको नेतृत्व गरिरहेको छ । उसका हरेक गतिविधिमा सबैको चासो हुन्छ’, उनले भने, ‘आफ्नै पार्टीको स्थायी समितिको बैठक बहिस्कार गर्ने खड्गप्रसाद ओलीमा लोकतान्त्रिक संस्कार छैन भन्ने देखाएको छ । ओलीजीले दम्भ र अहँकार त्याग गर्नुपर्छ भन्ने कुरा देखिएको छ ।’

कम्युनिस्टहरूमा सधैँ अधिनायकवादी सोँच हाबी हुने गरेको भन्दै कांग्रेस नेता खतिवडाले भने, ‘स्थायी समितिको बैठकमा बसेर ओलीजीले नेताहरूको कुरा सुन्नुपर्ने थियो । उहाँले सुझाव र आलोचना सुन्नै चाहनुभएन ।’

खतिवडाले ओलीमा रहेको दम्भ र अलोकतान्त्रिक संस्कृतिले मुलुकलाई कहिल्यै पनि फाइदा नगर्ने बताएका छन् ।

झण्डै दुईतिहाइको बुहमतको कम्युनिस्ट सरकारका प्रधानमन्त्रीले आफ्नै दलका स्थायी समितिको बैठक फेस गर्न नसक्नु भनेको सरकार कति अलोकप्रिय र गैह्रजिम्मेवार छभन्ने कुरा स्पष्ट रुपमा देखाएका कांग्रेस नेता खतिवडाले बताएका छन् ।

उनले कोरोनाका नाममा मन्त्री र सल्लाहकारहरूका छोराछोरी, पत्नीहरूले मुलुकको ढुकुटी करोडौँ रुपियाँ कुम्ल्याएको आरोप लगाए । खतिवडाले जनता क्वारेन्टिनमा खान नपाएर उचित स्याहार सुसार नपाएर मृत्युको मुखमा पर्न थालेको भन्दै चिन्ता समेत जनाएका छन् ।

Published : Friday, 2020 June 26, 10:56 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया