अधिनायकवादी कम्युनिस्ट सरकार शान्तिपूर्ण प्रदर्शनमा दमनमा उत्रियोः कांग्रेस सचेतक देवकोटा

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटाले रुकुम पश्चिमको घटनाका दोषीलाई कारबाहीको माग गरेर भएको प्रदर्शनमा कम्युनिस्ट सरकारद्वारा भएको दमनको विरोध गरेकी छिन् ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा विशेष समयमा बोल्दै सचेतक देवकोटाले शान्तिपूर्ण प्रदर्शनबाट समेत कम्युनिस्ट सरकार डराउन लागेको बताइन् ।

उनले लोकतन्त्रमा शान्तिपूर्ण प्रदर्शन गर्न पाउने अधिकारलाई अधिनायकवादी कम्युनिस्ट सरकारले दमन गर्न खोजेको आरोप लगाइन् ।

बुधबार काठमाडौंमा दलित नेता र सांसदहरूले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापन पत्र बुझाउन जाने क्रममा लाठी प्रहार गरेको थियो । त्यस क्रममा नेपाली कांग्रेसकी सांसद लक्ष्मी परियारको हातमा गम्भीर चोट लागेको थियो । एक दर्जन दलित नेताहरू पक्राउ परेका थिए ।

कांग्रेस सचेतक देवकोटाले कोरोना नियन्त्रण र रोकथाममा समेत सरकारले काम गर्न नसकेको भन्दै क्वारेन्टिनमा जनताको ज्यान जान थालेको भन्दै चिन्ता जनाइन् ।

उनले भनिन्, ‘कोरोना रोकथाम र उपचारका नाममा दश अर्ब खर्च भयो भन्छन् । त्यो खर्च कता भयो ? क्वारेन्टिनको अवस्था चिन्ताजनक छ । यो तरिकाले हुँदैन । ध्यान दिनुपर्छ ।’

Published : Thursday, 2020 June 25, 7:51 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया