कांग्रेसको फैसालाले घोटालामा संलग्न मन्त्री र भीआईपीहरूको सातोपुत्लो उड्यो, बोलायो बयानमा

काठमाडौं । खड्गप्रसाद ओली नेतृत्वको झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार स्वास्थ्य सामग्री खरिदमा घोटाला गरेपछि प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले स्वास्थ्य मन्त्रालय र स्वास्थ्य सेवा विभागलाई स्पष्टीकरणका लागि बोलाएको छ ।

प्रमुख विपक्ष दल नेपाली कांग्रेसको नेतृत्वमा रहेको सार्वजनिक लेखा समितिले स्वास्थ्य तथा जनसंख्या सचिव र विभागका महानिर्देशकलाई स्पष्टीकरणका लागि बोलाएको हो ।

समितिका सभापति एवम् कांग्रेसका सांसद भरतकुमार शाहले स्वास्थ्य सामग्री घोटालाका विषयमा सोधपुछका लागि मन्त्रालय र विभागलाई बोलाएको बताए ।

मन्त्रालयका सचिव र विभागका महानिर्देशकसँगको छलफलपछि अध्ययनका लागि उपसमिति पनि गठन हुन सक्ने सभापति शाहले बताए ।

लेखा समितिले स्वास्थ्य सामग्री खरिदसम्बन्धी अधिकांश कागजात संकलन गरेको जनाएको छ ।

तयार कागजातलाई एकीकृत गरेर समिति सचिवालयले अध्ययनका लागि समिति सदस्यहरूलाई वितरण गरेको छ ।

कम्युनिस्ट सरकारले चीनबाट स्वास्थ्य सामग्री खरिदका लागि ओम्नी नामक कम्पनी र नेपाली सेनासँग सम्झौता गरेको थियो ।

उनीहरूले बजार मूल्यभन्दा महँगोमा खरिद गरेको र प्रक्रिया मिचिएको भनेर चौतर्फी आलोचना भएको छ ।

समितिका सभापति भरतकुमार शाहले समितिले गरेको अध्ययनमा धेरै त्रुटि फेला परेको बताएका छन् ।

लेखा समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयसँग कोरोना भाइरसको महामारी नियन्त्रणका लागि सरकारले खर्च गरेको भनिएको १० अर्ब रुपियाँको हिसाब पनि माग गरेको छ ।

सरकारले कोरोना महामारी नियन्त्रणमा हालसम्म १० अर्ब रुपियाँ खर्च भएको बताएको थियो ।

नेपाली सेनाले औषधि खरिद गर्दा महँगोमा गरेको भन्ने सूचना आएका कारण सेनासँग पनि विवरण मागिएको समितिले जनाएको छ ।

नेपाली कांग्रेसका नेता एवम् पूर्वमन्त्री रोमी गौचन थकालीले कोरोना महामारीका बेला कम्युनिस्ट सरकारले स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताको विषयमा लेखा समितिले छानविन गर्नुपर्ने माग गरेका थिए ।

थकालीले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई फोन गरेर स्वास्थ्य सामग्री खरिद घोटालाका विषयमा अध्ययन गर्न समितिका सभापति शाहलाई निर्देशन दिन माग गरेका थिए ।

कांग्रेसको केन्द्रीय कार्यसमितिको निर्णयअनुसार वरिष्ठ नेता पौडेलले कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई ज्ञापन पत्र बुझाएर कोरोना रोकथाम र स्वास्थ्य सामग्री खरिदमा भएको अनियमितताका विषयमा छानविनको माग गरेका थिए ।

Published : Friday, 2020 June 19, 10:44 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया