नेकपा चीनको भ्रातृ संगठन बन्यो, अधिनायकवादी अनुहार उदाङ्गियोः कांग्रेस नेता खतिवडा

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले कम्युनिस्टहरूबाट राष्ट्रियता र लोकतन्त्रमाथि नै खतरा बढेको टिप्पणी गरेका छन् ।

नेपाल र चीनका दुई कम्युनिस्ट पार्टीबीच शुक्रबार भिडियो कन्फ्रेन्स (भर्चुअल)मार्फत ‘पार्टी र देशलाई परचालन गर्ने अनुभव आदान–प्रदान गर्न चीन र नेपालका सत्तारुढ पार्टीका उच्च पदाधिकारीबीच गोष्ठि उद्घाटन समारोह’को आलोचना गर्दै खतिवडाले नेकपाले मुलुकमा चिनियाँ हस्तक्षेप बढाएको बताए ।

उनले नेकपाले संविधानको प्रस्तावना र जनताले लेखेको संविधानको भावना विपरित चिनियाँ कम्युनिस्ट पार्टीका गतिविधिहरूमा संलग्न भएको बताए । खतिवडाले कम्युनिस्टहरूको गलत नीतिका कारण बिगतमा प्रजातन्त्र नै खतरामा परेको भन्दै कम्युनिस्टहरू राष्ट्रवादी हुन सक्दैनन् भन्ने उनीहरूका गतिविधिबाट पुष्टि हुँदै आएको बताए ।

लामो समयपछि जनताले संविधान सभाबाट बनाएको संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधानविरुद्ध नेकपाले गतिविधि गरिरहेको बताए । उनले चीनको शासन व्यवस्थालाई नेकपामार्फत नेपालमा लागू गर्न खोज्नु अत्यन्तै आपत्तिजनक रहेको बताए ।

‘नेपालमा अभिव्यक्ति स्वतन्त्रता छ, प्रेस स्वतन्त्रता छ, आवधिक निर्वाचन हुन्छ, बहुदलीय प्रतिस्पधा छ’, खतिवडाले प्रश्न गर्दै भने, ‘चीनमा तानाशाही निरंकुशत शासन व्यवस्था छ । त्यो व्यवस्था नेकपामार्फत चीनले लागू गर्न खोज्नु अत्यन्तै आपत्तिजनक र संविधान विपरित छ ।’

कांग्रेसका युवा नेता खतिवडाले नेकपालाई जनताले विश्वास गरेर झण्डै दुईतिहाइको बहुमत दिएको कुरालाई नेकपाले गलत रुपमा प्रयोग गरिरहेको बताए । उनले नेकपाका नेताहरूलाई सुध्रिन चेतावनी दिएका छन् ।

युवा नेता खतिवडाले संविधान विपरितका सबै गतिविधिहरू रोक्न प्रधानमन्त्री खड्गप्रसाद ओली र उनको दल नेकपालाई सुझाव दिएका छन् । यसैगरी चीनको हस्तक्षेप भित्र्याउँदै जाने हो भने नेकपाका विरुद्ध जनता सडकमा गएर प्रतिवाद गर्नुका विकल्प नहुने बताए ।

उनले चीनको कम्युनिस्ट पार्टीसँग नेकपा र सरकारका वरिष्ठ मन्त्री समेत बसेर भिडियो कन्फ्रेन्स गर्नु निकै अपात्तिजनक रहेको बताए । उनले मुलुकको रक्षा गर्ने बेला रक्षामन्त्री ईश्वर पोखरेलले आफ्नै पार्टीको विदेश विभागलाई जानकारी नै नदिएर भर्चुअल सम्वाद गर्नुमा ठूलो षड्यन्त्र रहेको बताए ।

‘नेकपाले संविधान विपरितको काम गरेको छ । घोरभर्त्सना गर्छौं । हामीले बनाएको संविधान एक तन्त्रको लागि होइन’, कांग्रेस नेता खतिवडाले भने, ‘अभिव्यक्ति स्वतन्त्रता र मानव अधिकारका लागि हामीले ठूलो संघर्ष गरेका छौँ । नेकपालाई यो कुराको हेक्का होस् ।’

खतिवडाले नेकपालाई चीनको कम्युनिस्ट पार्टीको भ्रातृ संगठन जस्तो नबन्न सुझाव दिए । ‘नेकपा चीनको कम्युनिस्ट पार्टीको भ्रातृ संगठन नबनोस्’, उनले भने, ‘संविधानको भावना, मर्म र प्रस्तावना विपरितका कुनै पनि कार्य नहोस् ।’

उनले देशलाई शीतयुद्धको भुमरीमा धकेल्दै, औपचारिक सम्झौता सहित विदेशी दलको प्रशिक्षण लिने नेकपाको कार्य कुनै हालतमा स्वीकार्य नहुने बताए ।

एकातिर आफ्नो वैचारिक औपनिकवेसिकता र अर्कोतिर उसको एकदलीय कम्युनिस्टअनुहार उदाङ्गो भएको खतिवडाले बताएका छन् ।

Published : Friday, 2020 June 19, 6:03 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया