पीसीआर मेसिन ओखलढुंगामा राख्न कांग्रेस नेता खतिवडाको प्रस्ताव, कोरोनाको परीक्षण बढाउन आग्रह

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंग जिल्लामा कोरोना भाइरस (कोभिड–१९)को नमूना परीक्षणको पीसीआर मेसिन राख्न माग गरेका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा शुक्रबार स्वास्थ्यमन्त्री भानुभक्त ढकालसँगको भेटमा कांग्रेस नेता खतिवडाले ओखलढुंगामा पीसीआर परीक्षणको मेसिन राखेर ओखलढुंगा, सोलुखुम्बु, खोटाङसहित आसपासका जिल्लाको नमूना परीक्षणको प्रस्ताव गरेका हुन् । खतिवडाको प्रस्ताव सकारात्मक रहेको बताए पनि मन्त्री ढकालले तत्काल मेसिन राख्न कठिनाइ रहेको बताएका छन् ।

जवाफमा मन्त्री ढकालले पीसीआर मेसिन राख्नका लागि समस्या नभए पनि त्यसलाई सञ्चाल गर्ने दक्ष कर्मचारीको अभावका विषयमा खतिवडालाई जानकारी गराएका थिए ।

‘एउटा पीसीआर मेसिन खरिदमा करीव ६० लाखको आसपासमा खरिद गर्न सकिन्छ’, मन्त्री ढकालको भनाइ उदृत गर्दै खतिवडाले भने, ‘पीसीआर मेसिन सञ्चालन गर्न कम्तिमा छ जना दक्ष जनशक्तिको आवश्यक्ता पर्छ । अहिले नै पीसीआर मेसिन राख्न सम्भव छैन । दीर्घकालमा सोँच्न सकिन्छ ।’

स्वास्थ्य मन्त्री ढकालले कांग्रेस नेता खतिवडाको आग्रहपछि एउटा गाडी चौबीसैघण्टा स्ट्याण्डमा राखेर ओखलढुंगासहित आसपासका जिल्लाको स्वास्ब संकलन गरेर काभ्रेको धुलिखेल प्रयोगशालामा परीक्षण गर्ने आश्वासन दिएका छन् ।

स्वास्थ्य मन्त्री ढकालले सरकारले तत्काल मुलुकका विभिन्न २१ स्थानमा पीसीआर मेसिनहरू राख्न गृहकार्य गरिरहेको जानकारी दिए ती प्रयोगशालाहरूबाट गुणस्तरीय र छिटोछरितो सेवा दिइने बताएको खतिवडाले उल्लेख गरे ।

ओखलढुंगासहित पहाडी जिल्लामा कोरोना भाइरसको उच्च जोखिम बढ्न थालेपछि कांग्रेस नेता खतिवडाले शुक्रबार स्वास्थ्यमन्त्री ढकाललाई भेटेर उच्च सर्तकता र स्वास्थ्य सामग्रीका विषयमा चासो राखेका हुन् ।

Published : Friday, 2020 June 12, 5:28 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया