कोरोनाको तथ्याङ्कले शुक्रबार लकडाउनको सबै रेकर्ड ब्रेक गर्‍यो

काठमाडौं । नेपालमा ४४८ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ ।

शुक्रबार आयोजित स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा विगत २४ घण्टामा थप ४४८ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको जानकारी दिइयो ।

लकडाउनको अवधिमा शुक्रबारको संख्या सबैभन्दा धेरै हो । योसँगै देशभरि पुष्टि भएका संक्रमितको कुल संख्या ५ हजार ६२ पुगेको छ ।

संक्रमितमध्ये ८७७ जना निको भएर घर गइसकेका छन् । कोरोनाको संक्रमणबाट थप एक जनाको मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिएका छन् । नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या १६ पुगेको छ ।

पछिल्लो पटक मरणोपरान्त संक्रमण पुष्टि भएका व्यक्ति अर्घाखाँची जिल्लाका भएको डा.गौतमले बताएका छन् । मन्त्रालयका अनुसार विगत २४ घण्टामा ५,९२५ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

कोरोनाभाइरस संक्रमण पुष्टि गर्न प्रयोग हुने उक्त परीक्षणको संख्या १ लाख २१ हजार ८ सय ६२ पुगेको छ । नेपालमा हालसम्म ७२ जिल्लामा संक्रमण भेटिएको छ । प्रदेश २ र ५ मा सर्वाधिक संख्यामा कोभिड–१९ भएका व्यक्ति भेटिएको छ ।

देशभरि १ लाख ५८ हजारभन्दा बढी व्यक्ति क्वारन्टीनमा छन् । तीमध्ये अधिकांश भारतबाट फर्किएका हुन् ।

Published : Friday, 2020 June 12, 4:55 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया