कोरोनाबाट एक जनाको मृत्यु, काठमाडौं उपत्यका सुरक्षित, हालसम्म ८६१ निको भए

काठमाडौं । नेपालमा बिहीबार २५० जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बिहीबार आयोजित नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार संक्रमितमध्ये २३० जना पुरुष रहेका छन् । २० जना महिला रहेका छन् ।

देशभरि ७२ जिल्लामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कुल संक्रमितको संख्या ४ हजार ६ सय १४ पुगेको छ ।

संक्रमितमध्ये ८६१ जना निको भएका छन् । १५ जनाको मृत्यु भएको छ । प्रदेश २ र ५ मा सबैभन्दा धेरै कोरोना भाइरसका संक्रमित रहेका छन् ।

प्रदेश १ का १३ जिल्लामा ३०७ जना, प्रदेश २ का ८ जिल्लामा १ हजार ६७१, बागमती प्रदेशका १२ जिल्लामा १४७ र गण्डकी प्रदेशका ९ जिल्लामा १४७ जना संक्रमित रहेका छन् ।

प्रदेश ५ का १२ जिल्लामा १ हजार ३९९, कर्णाली प्रदेशका ९ जिल्लामा ७५९ र सुदूरपश्चिम प्रदेशका ९ जिल्लामा १९२ जना संक्रमित छन् ।

बिहीबार सर्लाहीमा २, कपिलवस्तुमा २, बझाङमा २, सुनसरीमा ३, झापामा ३, महोत्तरी ४, प्यूठानमा ४, नवलपरासीमा ६, बारामा ७, धादिङमा ७, सुर्खेतमा ७ जामा कोरोनाको संक्रमण देखिएको छ ।

कैलालीमा ७, दाङमा ८, सप्तरीमा ९, बाँकेमा १३, रोल्पामा १४, बाजुरामा १८, रुपन्देहीमा २९, दैलेखमा ४८ र रौतहटमा ५७ मा पोजेटिभ देखिएको छ ।

नेपालमा १८७ जना कोरोरनाभाइरसमुक्त भएर घर फर्किएका छन् । काठमाडौं उपत्यकामा बिहीबार कोरोना संक्रमित भेटिएनन् ।

२४ घण्टामा ५ हजार २६३ वटा नमूनाको पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

संक्रमितमध्ये अधिकांश भारतबाट फर्किएका हुन् । सरकारको तथ्याङ्कअनुसार सुदूरपश्चिम प्रदेश, प्रदेश ५, कर्णाली प्रदेशमा र प्रदेश २ मा सर्वाधिक संख्यामा मानिसहरू क्वारन्टीनमा छन् ।

बुधबार मृत्यु भएका अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नम्बर ४ खनमैदानका ५७ वर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ ।

जेठ १४ गते भारतको मुम्बईबाट आएका उनलाई मालारानी गाउँपालिका वडा नम्बर ४ व्याडापाटास्थित सार्वजनिक आधारभूत विद्यालयको क्वारेन्टिनमा राखिएको थियो। क्वारेन्टिनमा उनीसहित ७ जना बस्दै आएका थिए ।

भारतमै घाँटीको अपरेसन गरेका उनलाई मंगलबार श्वासप्रश्वासमा समस्या भएपछि बुटवल ल्याइए पनि एम्बुलेन्सबाटै नझारी सोही दिन नै अर्घाखाँची फर्काइएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.राजेन्द्र खनालले जानकारी दिएका छन् ।

Published : Thursday, 2020 June 11, 9:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया