सप्तरीमा दलित महिला कुट्नेलाई कारबाही होस्, बचाउने होइनः कांग्रेस सांसद देवकोटा

काठमाडौं । नेपाली कांग्रेसकी सचेतक अनिता देवकोटाले सप्तरी जिल्लामा कथित दलित महिलालाई बोक्सीको आरोपमा कुटपिट भएको घटनाका दोषीलाई बचाउन लागेको भन्दै आक्रोश पोखरेकी छिन् ।

राष्ट्रिय सभाको बिहीबार बसेको बैठकमा शून्य समयमा बोल्दै सचेतक देवकोटाले स्थानीय तहले उजुरी दर्ता नगरेर मेलमिलाप गर्नेभन्दै पीडितलाई दवाव दिएको बताइन् । उनले बोक्सीको आरोपमा सदा थरी कथित दलित महिलालाई कुटपिट गर्नेलाई कानूनअनुसार हदैसम्मको कारबाही माग गरिन् ।

‘हाम्रो समाज कता जाँदै छ ? सप्तरीमा सदा थरकी दलित महिलालाई बोक्सी भेनर मरणासन्न हुने गरी कुटपिट भएको छ’, उनले भनिन्, ‘पीडित पक्ष उजुरी गर्न जाँदा स्थानीय तहले यो त मेलमिलाप गर्ने हो उजुरी दर्ता गर्ने होइन भनेर उजुरी दर्ता गर्न मानेको छैन ।’

‘यो फौजदारी अभियोग हो । फौजदारी अभियोग भएको कारणले गर्दा मेलमिलाप गर्ने कुरा हुँदैन’, कांग्रेसकी सांसद देवकोटाले भनिन्, ‘दोषीलाई कडाभन्दा कडा सजाय हुनुपर्छ । यस्ता घटनाहरू फेरि नहोदोरियोस् ।’

कांग्रेसकी सचेतक देवकोटाले कोरोनाको परीक्षण दायरा बढाउन पनि माग गरेकी छिन् ।

उनले आरडीटी परीक्षणको विधिलाई रोकेर पीसीआर पद्धतिबाट परीक्षणको दायरा बढाउन माग गरेकी छिन् । देवकोटाले कोरोना नियन्त्रणमा सरकारले ढिलासुस्ती गरेको बताइन् । उनले यस्तो कार्यले जनतामा त्रासमा रहेको बताइन् ।

Published : Thursday, 2020 June 11, 11:35 am

फेसबुकबाट तपाईको प्रतिक्रिया