राष्ट्रपति भण्डारीको विरोध गरेकोमा ओली रिसाए, आलोचना नगर्न चेतावनी

काठमाडौं । झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीले राष्ट्रपतिविरुद्धको प्रचार गणतन्त्रविरुद्धको साजिस भएको बताएका छन् ।

प्रतिनिधी सभाको बुधबार बसेको बैठकमा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीको आलोचना नगर्न चेतावनी दिएका छन् ।

ओलीले राष्ट्रपतिविरुद्धको प्रचार गणतन्त्र कमजोर बनाउन गरिएको षड्यन्त्र भएको बताए ।

‘यो एउटा गणतन्त्रविरुद्धको साजिस हो’, उनले भने, ‘गणतान्त्रिक प्रणालीलाई कमजोर बनाउने र गणतन्त्र ठीक होइन भन्ने कुरालाई स्थापित गर्न खोजिएको हो ।’

‘के गर्नुपथ्र्यो त राष्ट्रपतिले ? चुप लागेर बसेको छ’, उनले भने, ‘त्योभन्दा बढी के गर्नु पथ्र्यो? त्यसैले गणतन्त्र र लोकतन्त्रसँग लक्षित हो । यस्तो कुरामा हामी हौसिन हुँदैन ।’

ओलीले गणतन्त्रको विरोध गर्न मन लाग्यो भने राष्ट्रतिको विरोध गर्ने गरिएको बताए ।

‘गणतन्त्रको विरोध गर्न मन लाग्यो भने राष्ट्रपति खनिने, प्रहार गर्ने गरिएको छ’, ओलीले प्रश्न गर्दै भने, ‘कार्पेट कसले किन्यो र कहाँ फेरियो भन्ने कुरा राष्ट्रपतिलाई थाहा हुन्छ ?’
‘त्यसकाकारण जे कुरामा पनि राष्ट्रपतिको विरोध गर्ने यो एउटा दलगतरुपमा पनि उचित होइन’, उनले भने, ‘राष्ट्रपतिको संस्थालाई हामीले निस्पक्ष, मर्यादित संस्थाको रुपमा व्यवहार गर्नुपर्छ ।’

Published : Wednesday, 2020 June 10, 1:50 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया