माेदीलाई भाषा क्लास चलाएर कालापानी हाम्राे हाे भनेर बुझाउनुपर्ने भयाेः सांसद चाैधरी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद मेटमणि चौधरीले भारतद्वारा अतिक्रमित नेपाली भूमि लिपुलेक, कालापानी र लिम्पियाधुराबाट भारतीय सेना फिर्ता हुनुपर्ने बताएका छन् ।

संसदको मंगलबार बसेको बैठकमा संविधान संशोधनको छलफलमा सहभागी हुँदै चौधरीले भने, ‘सन्धिको धारा नम्बर ५ मा उल्लेख छ, महाकाली नदीको पश्चिमतर्फका सम्पूर्ण प्रदेशमा नेपालको राजाले आफनो दाबि त्याग्नेछन् र त्यहाँका बासिन्दासँग कुनै सम्पर्क राख्ने छैन्न ।’

‘यसको मतलब महाकाली नदी एकलौटी नेपालकै हो’, उनले भने, ‘यसको मुहान अर्थात उद्गमस्थल लिम्पियाधुरा, लिपुलेक नेपालकै हो भनी प्रष्ट हुन्छ ।’

‘सुगौली सन्धिपछि कम्पनी सरकारका कार्यवाहक मुख्य सचिव जे. आदमले काठमाडौंस्थित रेजिडेन्ट र कुमाउँका कार्यवाहक कमिशनरलाई लेखेको आधिकारिक पत्रले पनि कालीपूर्वको लिम्पियाधुरा क्षेत्र ओगट्ने सम्पूर्ण ब्यास प्रगन्ना (गर्खा) नेपालको अधीनमा रहेकोले त्यताको सबै तिरो–तिरान नेपाल सरकारलाई नै तिर्नु, किनकि त्यो सम्पूर्ण भू–भाग अब नेपालको भयो’, उनले सम्झौताका बारेमा उल्लेख गर्दै भने ।

‘यो कुरा भोटिया जमिन्दारलाई सम्झाउनु भन्ने पत्रले त्यो लिम्पियाधुरा नेपालको क्षेत्र हो भनी अकाट्य प्रमाण हो’, सांसद चौधरीले बताए ।

‘जहाँसम्म राप्ती पूर्वको तराईको भू–भागको कुरो हो । कम्पनी सरकारले उक्त जमिनको ब्यवस्थापन गर्न नसकेकोले सन्धि गरेको ६ महिनामा फिर्ता गरेको र महाकाली नदीभन्दा पूर्व र राप्ती नदीभन्दा पश्चिमको भूमिको कुरा छ’, उनले भने, ‘भारतमा भएको सिपाही बिद्रोहलाई दबाउनको लागि नेपाल सरकारले सहयोग गरेवापत फिर्ता गरेको हो ।’

‘यसको प्रमाण दुई देशबीचमा भएको ऐतिहासिक सन्धि सम्झौताको कागज पत्रले प्रमाणित गर्दछ’, नेकपाका सांसद चौधरीले भनेका छन् ।

‘नेपाल सरकारले बिक्रम संवत २००९ र २०११ सालमा क्रमशः पूर्वाञ्चल र पश्चिमाञ्चलमा जनगणना गरेको थियो’, सांसद चौधरीले भने, ‘हालको दार्चुला जिल्ला तत्कालीन बैतडी जिल्लाअन्तर्गत रहेको थियो ।’

‘बैतडीअन्तर्गतको तात्कालीन ब्यास गर्खामा ६ वटा गाउँहरू (छाँगरू, तिङ्कर, गुञ्जी, नाबी र कुटीका ४ सय ३४ घरधुरी र जनसंख्या १८१६ रहेको थियो’, उनले भने, ‘ती गाउँको जनगणना वरिष्ठ पत्रकार भैरव रिसालले बिक्रम संवत २०१८ सालमा गर्नु भएको थियो ।’

‘मालपोत कार्यलय बैतडीमा बिक्रम संवत १९६२ असार १८ तथा १९९३ चैत २० सम्म तिरो तिरान गरेका अभिलेखहरू भेटिएका छन्’, उनले भने, ‘बिक्रम संवत १९९७ मंसिर २७ गते खड्गनिशान भएको तिरो तिरानसम्बन्धि मोठ बैतडी मालमा अझै सुरक्षित छ ।’

‘काली पूर्वको लिम्पियाधुरा भारतको हो भन्नू मुर्खता र धृष्टता बाहेक अरू केही पनि होइन’, सांसद चौधरीले भनेका छन् ।

१८१६ को सुगौली सन्धि अंग्रेजी भाषामा रहेको भन्दै सांसद चौधरीले त्यसको अनुबाद देवनगरिक लिपिमा रहेको बताए । ‘त्यो सन्धिको कपी भारतीय प्रधानमन्त्री, शासक र कुटनीतिज्ञहरूलाई पढ्नको लागि अनुरोध छ’, नेकपाका सांसद चौधरीले भने, ‘यदि पढन र बुझ्नमा समस्या आयो भने उहाँहरूको लागि भाषा कक्षा सञ्चालनको ब्यवस्था गर्नको लागि अनुरोध छ ।’

उनले नेपालको भूगोलको क्षेत्रफल सानो होला तर इतिहासमा कसैको दास नभएको बताए । ‘स्वतन्त्रता दिवसको तिथि हाम्रो पात्रोमा छैन’, उनले भने, ‘अर्थतन्त्र सानो होला तर, दिनमा ३६ करोड भारतीयहरूले जसरी भोखले मर्नु परेको छैन ।’

‘पुलमुनि जन्मिने, पुलमुनि हुर्किनु पर्ने र हनिमुन पनि पुलमुनि नै मनाउनु पर्ने नेपालीलाई त्यो अवस्था छैन’, उनले भने, ‘यसैले चेतना होस् । नेपाल कमजोर छैन ।’

Published : Wednesday, 2020 June 10, 7:53 am

फेसबुकबाट तपाईको प्रतिक्रिया