स्वास्थ्य संकटकाल लगाएर चीनको सेना ल्याउन पाइँदैनः कांग्रेस सांसद मुसलमान

काठमाडौं । नेपाली कांग्रेसका सांसद अतहरकमाल मुसलमानले सरकारले चीनबाट चिकित्सकसँगै चिनियाँ जनमुक्ति सेना ल्याउन लागिएको हो कि ? भनेर प्रश्न उठाएका छन् ।

संसदको मंगलबार बसेको बैठकमा बोल्दै सांसद मुसलमानले त्यसो गरिए नेपाल रणभूमि हुने बताए । उनले त्यसबारे ख्याल गर्न संघीय मामिला तथा समान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीलाई ध्यानाकर्षण गराएका छन् ।

‘अहिले सरकारका बारेमा एउटा कुरा उठेको छ’, उनले भने, ‘हेल्थ इमरजेन्सीमार्फत चीनबाट डाक्टरको टीम ल्याउने, त्योभित्र पीएलएसहित तल (तराई) पठाउने कोभिड नियन्त्रणका लागि । यदि स्थानीय तहले माग गर्दैन भने स्थानीय तहमा नपठाइयोस् ।’

‘कालापानीमा सेना दौडिएको छ, सगरमाथामा दौडेको छ’, उनले भने, ‘अब तराईका जिल्लामा पीएलएको सेना दौडियो भने हामी रणभूमिमा पर्ने छौं, मन्त्रीज्यूले स्थानीय सरकारको अधिकारको रक्षा गर्नुहुनेछ ।’

जवाफमा मन्त्री त्रिपाठीले चीनबाट सेना त के, स्वास्थ्यकर्मी पनि नल्याइने स्पष्ट पारेका छन् ।

‘हामीलाई हाम्रा चिकित्साकर्मी, जनस्वास्थ्यकर्मीमाथि पूरा विश्वास छ’, त्रिपाठीले भने, ‘पूरा विश्वास भएकाले कहीँ कतैबाट चिकित्सक ल्याउँदैनौं ।’

‘त्यो स्पष्ट होस्, हाम्रै चिकित्साकर्मीहरू सक्षम छन्’, मन्त्री त्रिपाठीले भने, ‘अहिलेसम्म कोभिड–१९ बिरुद्धमा जति लडे हाम्रै चिकित्साकर्मी लडेका छन्, हाम्रै नर्सहरु लडेका छन, आफै जोखिम मोलेर लडेका छन् ।’

Published : Tuesday, 2020 June 9, 9:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया