सुदूरपश्चिममा काेराेना परीक्षणमा लापरबाही भयाे, कीट छिटो पठाऔँः सांसद लक्ष्मी चौधरी

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)की सांसद लक्ष्मी चौधरीले सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरसको परीक्षणका लागि आवश्यक पर्ने कीट समाप्त भएको भन्दै कीट पठाउन माग गरेकी छिन् ।

प्रतिनिधि सभाको शनिबार बसेको बैठकमा बोल्दै सांसद चौधरीले भारतबाट आएका नागरिकहरूको कोरोना परीक्षण हुन नसकेको भन्दै चिन्ता जनाइन् । उनले कैलाली जिल्लामा भारतबाट आएका हजारौँ नागरिक क्वारिन्टिनमा रहेको भन्दै उनीहरूको कोरोना परीक्षणको माग गरिन् ।

उनले लकडाउनका कारण समस्यामा परेका अति विपन्न र मजदुरहरूलाई राहत वितरण गर्न पनि माग गरेकी छिन् ।

बजेटको स्वागत गरेकी नेकपाकी सांसद चौधरीले स्वास्थ्य र कृषिमा बजेट अपर्याप्त रहेको बताइन् । उनले आफूहरूले स्वास्थ्य र कृषिमा दिएको सुझावलाई नसमेटिएको भन्दै आक्रोश पोखरेकी छिन् ।

‘लकडाउनले जनता समस्यामा छन् । उनीहरूलाई राहत दिनुपर्छ’, उनले भनिन्, ‘बजेटले पहिलो प्राथमिकतामा स्वास्थ्यलाई राखेको छ । दोस्रोमा कृषिमा प्राथमिकता हुनेपर्ने थियो । तर, बजेटमा त्यो कुरा आएन ।’

उनले तरकारी बिक्री नभएर र उचित व्यवस्थापन हुन नसकेर खेर गएको समाचार आइरहेको भन्दै किसानहरूको उत्पादनलाई बजारसम्म ल्याउने व्यवस्था मिलाउन माग गरिन् ।

‘तरकारी र फलफूलहरू अर्बौंको आयात भइरहेको छ’, उनले भनिन्, ‘खुर्सानी समेत हामी आत्मनिर्भर छैनौँ’, नेकपाकी सांसद चौधरीले भनिन्, ‘किसानहरूको तरकारी र उत्पादन व्यवस्थापन हुन सकेन । आयात डरलाग्दो रुपमा भएको छ । भारतबाट हुने आयातलाई विस्थापन गर्न स्वदेशमै उत्पान हुने तरकारी र फलफूललाई बजारसम्म लैजाने व्यवस्था गर्नुपर्छ ।’

Published : Saturday, 2020 June 6, 11:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया