सरकार चन्दा उठाउँदै, कम्युनिस्ट मन्त्री दुई करोडको गाडी किन्दै

विराटनगर । राष्ट्रपतिलाई एक करोडको गलैचा र कर्णाली प्रदेशका मन्त्रीलाई पौने दुई करोडको गाडी प्रकरण सेलाउन नपाउँदै प्रदेश १ का मन्त्रीले दुई करोडको गाडी खरिद गर्न लागेका छन् ।

प्रदेश १ को कम्युनिस्ट सरकारका वन, वतावरण, उद्योग तथा पर्यटनमन्त्री जगदीश कुसियतले लकडाउनका वेला आफ्ना लागि दुई करोड सात लाख ५० हजारको गाडी किन्न लागेको नयाँ पत्रिका दैनिकले जनाएको छ ।

मन्त्री कुसियत प्रदेश १ सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार समितिको आपूर्ति व्यवस्था संयोजक पनि हुन् ।

देशमा ११ चैतबाट लकडाउन सुरु भएको हो भने मन्त्री कुसियतले नेतृत्व गरेको मन्त्रालयले पहिलोपटक १८ चैतमा सूचना प्रकाशित गरेर गाडी खरिद गर्न टेन्डर मागेको थियो ।

यो देशमा कोभिड संक्रमण फैलिएर जनताले दुःख पाए पनि खरिद प्रक्रिया रोकिएन ।

जेठ १२ गते मन्त्रीका लागि दुई करोड सात लाखको गाडी खरिद गर्ने टुंगो लागेको छ । यही वेला मन्त्रालयका लागि ८५ लाख मूल्यबराबरका दुईवटा पिकअप भ्यान पनि खरिद हुँदै छ ।

मन्त्रालयका प्रवक्ता अनिरुद्धकुमार साहले प्रदेशका अन्य मन्त्रीहरूले चढेअनुसारको गाडी मन्त्री कुसियतले पनि चढ्न लागेकाले यसलाई अन्यथा मान्न नहुने बताएका छन् ।

प्रदेश १ को सरकारले कोरोनाको संक्रमण रोकथाम तथा उपचारका लागि सहयोग जुटाउन ‘प्रदेश १ कोरोना जनसुरक्षा कोष’ स्थापना गरेको छ ।

महामारीविरुद्धको लडाइँमा सरकारलाई सहयोग गर्दै विभिन्न संघसंस्था र व्यक्तिले कोषमा दुई–चार लाखदेखि दुई–चार हजारसम्म सहयोग गरेका छन् ।

१९ जेठसम्म यो कोषमा १९ करोड ४३ लाख ३६ हजार पाँच सय ८० रुपैयाँ जम्मा भएको छ । त्यसमध्ये खर्च भएकोबाहेक १९ जेठसम्म यो कोषमा ११ करोड ५७ लाख ७६ हजार चार सय ३० बाँकी छ ।

एक–एक रुपैयाँ जुटाउन प्रदेश सरकारले सार्वजनिक रूपमै अपील गर्दै आएको छ ।

प्रदेश १ को मन्त्रिपरिषद् तथा मुख्यमन्त्रीको कार्यालयले १२ चैतमा सूचना निकाल्दै ‘प्रदेश १ कोरोना जनसुरक्षा कोष’मा रकम जम्मा गर्न व्यक्ति र संघसंस्थालाई आह्वान गरेको थियो ।

Published : Thursday, 2020 June 4, 6:02 am

फेसबुकबाट तपाईको प्रतिक्रिया