बुधबार २०१ जना कोरोनाका संक्रमित भेटिए

काठमाडौं । नेपालमा बुधवार २०१ जनामा कोरोना भाइरसको संक्रमण भेटिएको छ । एक जनाको कोरोनाबाट मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा.विकास देवकोटाले २०१ जनामा कोरोना पोजेटिभ आएको बताए ।

योसँगै नेपालमा संक्रमितको संख्या २ हजार ३ सय पुगेको डा.देवकोटाले बताए ।

संक्रमितमध्ये नौ जनाको मृत्यु भइसकेको छ । नयाँ संक्रमितमध्ये २२ जना महिला र १७९ जना पुरुष रहेका छन् ।

दोलखाका ७६ वर्षीय पुरुषको त्रिविवि शिक्षण अस्पतालमा बुधवार मृत्यु भएको डा. देवकोटाले बताएका छन् ।

कर्णाली प्रदेशमा थप १६ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।

प्रदेश अस्पताल र पशुपन्छी अन्वेषण प्रयोगशाला तथा कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परीक्षणमा सल्यान, दैलेख र कालीकोटका १६ जनामा संक्रमण पुष्टि भएको प्रदेशको स्वास्थ्य सेवा महाशाखा प्रमुख डा.लक्ष्मीनारायण तिवारीले जानकारी दिएका छन् ।

थप संक्रमितमध्ये कालीकोटका महावै गाउँपालकिा वडा नम्बर ४ का चार महिने बालक पनि रहेका छन् ।

पछिल्लो २४ घण्टामा प्रदेश नं २ मा ४१ जना पुरुष र तीन जना महिला गरी कुल ४४ जना व्यक्तिमा संक्रमणको पुष्टि भएको त्यहाँको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

तीमध्ये सप्तरीमा १ जना, धनुषामा १ जना, महोत्तरीमा ९ जना, सर्लाहीमा १५ जना, रौतहटमा ११ जना र पर्सामा ७ रहेको बताइएको छ ।

पुष्टि भएका सबै संक्रमितहरू भारतबाट आएको बताइएको छ ।

Published : Wednesday, 2020 June 3, 8:15 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया