चीन र अमेरिकाको युद्ध हुन सक्छ, नेपालले रिजर्ब फण्ड राखौँः कांग्रेस नेता शाह

काठमाडौं । नेपाली कांग्रेसका सांसद एवम् केन्द्रीय सदस्य अभिशेषप्रताप शाहले कोरोना भाइरसको संक्रमणका कारण अमेरिका र चीनबीच द्वन्द्वको संकेत देखिएको बताएका छन् ।

प्रतिनिधि सभाको मंगलबार बसेको बैठकमा बोल्दै सांसद शाहले अमेरिका र चीनबीचको द्वन्द्व भयो भने त्यसको असर नेपालमा पनि पर्ने बताए ।

‘कोरोना भाइरस चीनले बनाएको भनेर अमेरिकाले आफूसँग प्रमाण रहेको दाबी गरिरहेको छ’, उनले भने, ‘यस्तो अवस्थामा अमेरिका र चीनबीच द्वन्द्व हुने अवस्था आउन सक्छ । त्यो समस्याबाट बच्न नेपाल सरकारले रिजर्ब फण्ड बनाएर राख्नुपर्छ ।’

नेपाली कांग्रेसका नेता शाहले कोरोना भाइरसको संकटले नेपाली जनतालाई अवसर दिएको बताएका छन् । उनले विदेशमा रहेको नयाँपुस्तालाई नेपाल आए भने सहि रुपमा सदुपयोग गर्नुपर्ने बताए ।

उनले भने, ‘जसले सिप सिकेको छ ती युवाहरू स्वदेश फिर्ता भए भने हामीलाई नै फाइदा हुन्छ । उनीहरूको सिपलाई हामीले अवसरका रुपमा प्रयोग गर्नुपर्छ ।’

सांसद शाहले नेपालमा रिसर्च ईन्स्च्युटको आवश्यक्ता रहेको बताएका छन् । ‘हामीभन्दा सानो देश ईजराइलले कोरोना भाइरसविरुद्धको एन्टीबडी बनाएको छ’, उनले भने, ‘आउने पुस्ताको लागि पनि विकास गर्नुपर्छ । रिसर्च ईन्स्च्युट खोल्नुपर्छ । बाटोघाटो र पुललाई मात्रै ध्यान दिने होइन ।’

सांसद शाहले आगामी बजेटले कृषि क्रान्तिमा ध्यान दिएको भन्दै सरकारलाई धन्यावाद पनि दिएका छन् ।

‘म पहिलो पटक सांसद भएर संसदमा आउँदा रासायनिक मल उद्योग खोल्ने कुरा बजेटमा परेको थियो’, उनले भने, ‘रासायनिक मलको उद्योग बनाउने कुरा अहिले आउँदा हरायो । मल खरिदमा अर्बौं रुपियाँ विदेशिएको छ । त्यो रकम रोक्न आफैले मल उद्योग बनाउनुपर्छ ।’

सांसद शाहले फुडग्रिन सेक्युरिटीको कुरा पनि उठाएको छ । ‘हामी कोरोनाबाट जोगियौँ भने पनि फुडको समस्या हुन सक्छ’, उनले भने, ‘कोरोनासँग लड्नका लागि वीस मेट्रिक टन फुड स्टक रहनुपर्छ । हाइब्रिड बीउ वितरण गर्नुपर्छ ।’

‘सिमेन्ट निर्यात गर्न सकियो भने फाइदा हुन्छ । अब हमीले सिमेन्टेड रोड बनाउनुपर्छ’, उनले भने, ‘जर्मन, अमेरिकन टेक्नोलोजी, हाइटेक सडक बनाउनुपर्छ । सय टन क्षमताको सडक बनाउनुपर्छ ।’

कांग्रेसका सांसद शाहले अनलाइनबाट व्यापारको कुरा आएको भन्दै त्यसलाई प्रमोट गर्नुपर्ने बताए । उनले कोरोना भाइरस र लकडाउनबाट उद्योगीहरूलाई समस्या परेको भन्दै प्याकेजको कार्यक्रम घोषणा गर्न आग्रह गरेका छन् ।

Published : Tuesday, 2020 May 12, 8:53 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया