कांग्रेसले भत्काएको कम्युनिस्टको गढमा नेविसंघको प्रदर्शन, नेताहरू पक्राउ

धरान । भारतले नेपाली भूमि लिपुलेक अतिक्रमण गरी सडक निर्माण गरेको विरोधमा धरानमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले मंगलबार कम्युनिस्ट सरकार र भारतविरुद्ध प्रदर्शन गरेको छ ।

नेविसंघको शान्तिपूर्ण विरोध प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ ।

धरानको महेन्द्र बहुमुखी क्याम्पसबाट निस्किएको नेविसंघको जुलुसलाई प्रहरीले क्याम्पसबाटै निस्किन नदिने रणनीति तय गरेको भए पनि विद्यार्थी नारा जुलुस गर्दै भानुचौकसम्म प्रदर्शन गरेका थिए ।

भानुचौकबाट प्रहरीले नेविसंघका महेन्द्र बहुमुखी क्याम्पसका कार्यवाहक सभापति एवं स्ववियुका सचिव दोर्ची शेर्पा, नेविसंघ सुनसरी जिल्ला सचिव टकेन्द्र राई, विनोद आले मगर, रोशन चोङवाङ, विमल बुढाथोकी, अजित लिम्बु, अजय लिम्बु, कृष्ण बडू र उत्तम राईलाई पक्राउ गरेको छ ।

लिपुलेक हाम्रो हो, केपी तिम्रो पाराले, दुःख पाए साराले भन्दै नेविसंघले राष्ट्रिय झन्डासहित विरोध जुलुस प्रदर्शन गरेको थियो ।

नाराबाजीसहित भानुचौकमा आइपुगेका नेविसंघका नेताहरूलाई प्रहरीले हस्तक्षेप गरेर पत्राउ गरेको थियो ।

धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसले मेयरको निर्वाचनमा कम्युनिस्टहरूलाई हराएर झण्डै २५ वर्षदेखिको लालकिल्ला भत्काइदिएको थियो ।

धरान उपमहानगरपालिकामा कांग्रेसबाट तिलक राईले जितेका छन् । राई विजयी भएसँगै धरानमा कांग्रेस र उसका भ्रातृ संस्थाहरूको गतिविधि बढ्दै गएको छ ।

यसैवीच, हर्क साम्पाङको समूहले पनि भारतले नेपाली भूमि अतिक्रमण गरेको विरोधमा विरोध जुलुस निकालेका थिए ।

सो समूहका पनि ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय धरानका प्रमुख डीएसपी ढुण्डीराज न्यौपानेले दिएको जानकारी अनुसार पक्राउ परेकाहरूलाई ईलाका प्रहरी कार्यालयको कर्वड हलमा राखिएको छ ।

Published : Tuesday, 2020 May 12, 8:19 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया