काठमाडौंबाट चार जना तरुण नेता पक्राउ, अध्यक्ष बस्नेतद्वारा छाड्न माग

काठमाडौं । भारतले लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक बनाएको विरोधमा काठमाडौंमा प्रदर्शन गर्ने क्रममा नेपाल तरुण दलका चार जना नेता तथा कार्यकर्ताहरू पक्राउ परेका छन् ।

काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाको वडा नम्बर ६ मूलपानीमा सोमबार भारत र कम्युनिस्ट सरकारविरुद्ध प्रदर्शन गर्ने क्रममा प्रहरीले चार जनालाई पक्राउ गरेको तरुण दलले जनाएको छ । पक्राउ पर्नेमा तरुण दलका नेता कवीर शर्मासहित चार जना रहेका छन् । उनीहरूलाई बौद्ध प्रहरीमा राखिएको छ ।

यसैबीच, नेपाल तरुण दलका अध्यक्ष जितजंग बस्नेतले पक्राउ परेका सबैलाई रिहाइ गर्न माग गरेका छन् ।

‘भारतद्वारा नेपाली भूमिमाथि गरिएको हस्तक्षेपको विरुद्धमा मूलपानीमा शान्तिपूर्ण प्रदर्शन गर्दा नेपाल तरुण दलका नेता कवीर शर्मा लगायत चार नालाई कागेश्वरी मनोहरा ६ मूलपानीबाट प्रहरीले पक्राउ गरेर बौद्ध प्रहरीमा राखिएको छ’, अध्यक्ष बस्नेतले भनेका छन्, ‘उनीहरूलाई विनासर्त रिहाइ गरियोस् ।’

Published : Monday, 2020 May 11, 10:48 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया