भारतसँग सीमा जोडिएका जिल्लाहरूमा जोखिम बढ्यो, लकडाउनमा कडाइ गरौँः तरुण उपाध्यक्ष

काठमाडौं । लकडाउनका बेला एकै दिन २४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएपछि नेपाल तरुण दलका केन्द्रीय उपाध्यक्ष उत्तम चापागाइँले सचेत रहन सबैमा अपील गरेका छन् ।

सोमबार साँझ उपाध्यक्ष चापागाइँले प्रेस नोट जारी गरेर कोरोना भाइरसको संक्रमण दिन प्रतिदिन बढ्ने क्रम देखिएको भन्दै सचेत रहन सबैलाई आग्रह गरेका हुन् ।

भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा कोरोना भाइरसको संक्रमतिहरूको संख्या बढ्न थालेकोमा चिन्ता व्यक्त गर्दै उनले सबै मिलेर यसको रोकथाममा लाग्नुपर्ने बताए ।

‘भारतसँग सिमाना जोडिएका तराईका जिल्लाहरूमा कोरोना भाइरसको संक्रमितको संख्या बढेको तथ्याङ्कले देखाउन थाल्यो’, उनले भने, ‘विशेष गरेर भारतबाट आउने व्यक्तिहरूमा हामी सबै मिलेर निगरानी गर्नेदेखि क्वारेन्टाइनमा राख्ने र सामाजिक दुरी बनाउन सहयोग गर्नुपर्छ ।’

उनले लकडाउनलाई पूर्ण रुपमा पालना गरेर सहयोग गर्न पनि आग्रह गरेका छन् । चापागाइँले गाउँ, टोलीमा देखिने नयाँ व्यक्तिहरूका विषयमा सुरक्षाकर्मी र जनप्रतिनिधिहरूलाई जानकारी दिन पनि आग्रह गरेका छन् ।

‘कोरोना भाइरसको संक्रमण नबढोस र भएका संक्रमितहरूको पनि समयमा उपचार र रोकथाम होस् भनेरै लकडाउन लागू गरिएको हो’, उनले भने, ‘लकडाउन उल्लंघन गर्ने कार्य भयो भने त्यसको जोखिम सबैलाई हुनेछ ।’

तरुण उपाध्यक्ष चापागाइँले तराईका जिल्ला र काठमाडौं उपत्यकासहित जोखिममा रहेका जिल्लाहरूमा लकडाउनलाई पालना गर्न सरोकारवाला निकायले कडाइ गर्नुपर्ने बताए ।

उनले भने, ‘ सोमवार १६ जना कपिलवस्तु, ६ जना रुपन्देही, १ जना बर्दिया र १ जना सप्तरी जिल्लामा कोरोना भाइरसका संक्रमित भेटिनुले लकडाउनको महत्व अझै बढेको छ ।’

तरुण उपाध्यक्ष चापागाइँले लकडाउनसँग समस्यामा परेका जनताको गुजाराका लागि सरकारले विशेष ध्यान दिनुपर्ने बताए । उनले स्थानीय तहमार्फत समस्यामा परेकाहरूलाई राहत दिनुपर्ने बताए ।

Published : Monday, 2020 May 11, 9:11 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया