नेविसंघद्वारा भारत र कम्युनिस्ट सरकारविरुद्ध काठमाडौंमा भव्य प्रदर्शन

काठमाडौं । भारतले नेपाली भूमि अतिक्रमण गरेको र झण्डै दुईतिहाइको कम्युनिस्ट सरकारले टुलुटुल हेरेर बसेको भन्दै विरोधमा नेपाल विद्यार्थी संघ (नेविसंघ)ले काठमाडौंमा प्रदर्शन गरेको छ ।

सोमबार माइतीघर मण्डलामा भएको नेविसंघको प्रदर्शनमा प्रहरीले हस्तक्षेत्र गरेर एक सयभन्दा धेरै विद्यार्थी नेताहरू पक्राउ गरेको छ । नेविसंघले भारतद्वारा अतिक्रमित लिपुलेकसहितका अतिक्रमित भू–भाग फिर्ता र कुटनैतिक पहल नगरेको भन्दै सरकारविरुद्ध प्रदर्शन गरेको हो ।

पक्राउ पर्नेमा नेविसंघका अध्यक्ष राजीव ढुंगानासहितका रहेका छन् ।

उर्मिला थपलिया, युवराज पाण्डे, बलदेव तिमल्सिना, दीपक भटराई, दुजाङ शेर्पा, उत्तम साउद, प्रभात दाहाल, हेमन्त गुरूङलगायत एक सयभन्दा धेरै विद्यार्थी नेताहरू पक्राउ गरेको नेविसंघले जनाएको छ ।

पक्राउ परेका नेविसंघका नेता तथा कार्यकर्ताहरूलाई प्रदर्शनीमार्गस्थित महेन्द्र पुलिस क्लब राखिएको छ ।

यसैबीच, नेपाली कांग्रेस र नेपाल तरुण दलले पक्राउ परेका विद्यार्थी नेता तथा कार्यकर्ताहरूलाई विनासर्त रिहाइ गर्न माग गरेका छन् ।

लिपुलेकमा भारतीय अतिक्रमणका विरुद्धमा नेपाल विद्यार्थी संघले सोमबार काठमाडौंमा गरेको प्रदर्शनमा भएको प्रहरी हस्तक्षेपको कांग्रेस र तरुण दलले भर्त्सना गरेका छन् ।

‘नेपाल विद्यार्थी संघका अध्यक्ष राजीव ढुंगाना, महामन्त्रीहरू प्रभात दाहाल, उर्मिला थपलिया, दिपक भट्टराई, वलदेव तिम्सिना र यूवराज पाण्डे लगायत एक सयभन्दा बढी विद्यार्थी नेताहरूलाई गिरफ्तार गरेर महेन्द्र पुलिस क्लब लगायतका स्थानमा राखिएको छ’, कांग्रेसको विज्ञप्तिमा भनिएको छ ।

‘उनीहरूलाई तत्काल रिहा गर्न माग गर्दै लिपुलेक प्रकरणमा उच्चस्तरीय कुटनैतिक पहलमार्फत गम्भीर बन्न सरकारलाई अपील गर्दछ’, विज्ञप्तिमा उल्लेख छ ।

Published : Monday, 2020 May 11, 6:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया