नेविसंघद्वारा गोरखामा राँके जुलुस प्रदर्शन, ओलीको राजीनामा माग

गोरखा । नेपाल विद्यार्थी संघ (नेविसंघ)ले भारतद्वारा नेपाली सिमाना मिचिएको विरोधमा राँके जुलुस प्रदर्शन गरेको छ ।

नेविसंघले आइतबार साँझ गोरखा बजारमा राँके जुलुस प्रदर्शन गरेको हो ।

लिपुलेकमा नेपाली भूमि अतिक्रमण गरेर सडक निर्माण गरेको विरोधमा नेविसंघले राँके जुलुस प्रदर्शन गरेको नेविसंघका जिल्ला अध्यक्ष सुवास अधिकारीले जानकारी दिएका छन् ।

नेविसंघका नेता तथा कार्यकर्ताहरूले लिपुलेक हाम्रो हो, भारतीय विस्तारवाद मुर्दावाद, नालायक सरकार राजीनामा दे, सीमा मिच्न पाइँदैन जस्ता नारा लगाएका थिए ।

उनीहरूले गोरखा बजारको घ्याम्पेसाल चोकदेखि हरमटारी चोकमा जुलुससहित कोण सभा गरेका थिए ।

संघका अध्यक्ष अधिकारीले भारत सरकारले धार्चुलाबाट लिपुलेकसम्म सडक निर्माण गरेको विषयमा सरकार उदासीन बनेको आरोप लगाएका छन् ।

अध्यक्ष अधिकारीले आफ्नो भूमि मिचिँदासमेत सरकारले पत्तो नपाउनु देश र नेपाली जनताप्रतिको अन्तर्घात भएको बताएका छन् ।

वर्तमान सरकार भष्ट्राचारमा डुबेको, भूमि मिचिँदा मौन बसेको लगायत कारणले राजीनामा दिनुपर्ने माग अध्यक्ष अधिकारीले गरेका छन् ।

Published : Monday, 2020 May 11, 6:54 am

फेसबुकबाट तपाईको प्रतिक्रिया