कम्युनिस्ट प्रधानमन्त्रीको आराेपको गगनद्वारा ‘बाघ’ बनेर प्रतिवाद

काठमाडौं । नेपाली कांग्रेसका युवा नेता गगन थापाले संकटको बेला अस्थिरताको प्रयास भइरहेको कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् ।

ओलीले अन्तर्राष्ट्रिय श्रमिक दिवसको अवसरमा भिडियो सन्देशमार्फत् आफूले राम्रो काम गर्दा गर्दै केही सञ्चार माध्यम र विरोधी तत्वहरूले अस्थिरताको प्रयास गरिरहेको आरोप लगाएका थिए ।

ओलीको यो अभिव्यक्तिले शुक्रबार दिनभरि तरंग उत्पन्न गरिरहेका बेला कांग्रेसका केन्द्रीय सदस्य समेत रहेका प्रतिनिधि सभाका सांसद थापाले आक्रोश पोखेका हुन् ।

‘जो चोर उसैको ठूलो स्वर’ भनेझै ओलीले आफैले अस्थिरता निम्त्याउने काम गरिरहेको नेता थापाको आरोप छ ।

कांग्रेस नेता थापाले ओलीका अधिकांश कदमहरू अस्थिरता निम्त्याउनेमा केन्द्रित रहेको बताएका छन् ।

कम्युनिस्ट सरकारलाई खबरदारी गर्नेहरूलाई ओलीले अस्थिरतावादी देख्नु आपत्तिजनक भएको फेसबुकमार्फत थापाले उल्लेख गरेका छन् ।

थापाले भनेका छन्, ‘वाह प्रधानमन्त्रीज्यू ! महामारीको मौका छोपेर आफ्नो स्वार्थका लागि अस्थिरताको खेल खेल्ने, अनेकन प्रपञ्च रचेर परिस्थिति विगार्ने तपाईं ! गर्नु पर्ने नगर्ने, देख्नुपर्ने नदेख्ने, सुन्नुपर्ने नसुन्ने तपाईं ! अनि धम्की ती खवरदारी गर्नेहरूलाई ?’

‘जो चोर उसैको ठूलो स्वर’, कांग्रेसका युवा नेता थापाले भनेका छन्, ‘कोही तर्सनेवाला छैन यो धम्कीबाट ।’

प्रधानमन्त्री ओलीको धम्कीबाट कोही नतर्सने बताएका नेता थापाले अझ धेरै खवरदारीको आवश्यकता रहेको बताएका छन् ।

Published : Friday, 2020 May 1, 3:17 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया