पहिलो मजदुर आन्दोलन कांग्रेसले गरेको स्मरण गर्दै देउवाले दिए शुभकामना

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले अहिले पूरै विश्व कोरोना भाइरस (कोभिड १९) को महामारीबाट विश्वब्यापी रुपमै प्रताडित भएका बेला मजदुरहरूका समस्याप्रति विशेष ध्यान दिनुपर्ने बताएका छन् ।

मजदुर दिवसका अवसरमा शुक्रबार शुभकामना सन्देश दिँदै देउवाले नेपालपनि कोरोना भाइरसको संक्रमणको जोखिमका कारण लकडाउनको अवस्थामा रहेको भन्दै सम्पूर्ण नागरिकको जीवन सहज हुन नसकेको बताएका छन् ।

‘यो बेला श्रम गरेर गुजारा गर्ने श्रमिकहरूको जीवन खाद्यान्न लगायत अन्य अत्यावश्यक वस्तुको अभावमा अझ बढी कष्टकर हुन पुगेको छ’, कांग्रेस सभापति देउवाले भनेका छन्, ‘श्रमिकको यो कष्टकर जीवनका सम्बन्धमा नेपाली कांग्रेसले बारम्बार सरकारको ध्यानाकर्षण गराउँदै आएको छ ।’

‘लकडाउनका कारण श्रमिकले कष्टकर स्थिति भोगिरहेका बेला उनीहरूलाई अविलम्व राहतको व्यवस्था गर्न म सरकारसँग पुनः आग्रह गर्दछु’, उनले भनेका छन् ।

मे १ तारिख – श्रमिक वर्गले लामो संघर्षपछि आफ्नो अधिकार प्राप्त गरेको एक ऐतिहासिक दिन रहेको भन्दै देउवाले यस ऐतिहासिक दिवसका अवसरमा सम्पूर्ण श्रमिक दिदी–बहिनी तथा दाजु–भाइहरूमा शुभ–कामना व्यक्त गरेका छन् ।

बिक्रम संवत २००३ सालमा नेपाली कांग्रेसको नेतृत्वमा विराटनगरमा मजदूरहरूको पहिलो ऐतिहासिक आन्दोलन भएको देउवाले स्मरण गरेका छन् ।

सरकारले त्यो लामो आन्दोलनलाई निर्ममतापूर्वक दवाउने नीति अख्तियार गरेर जननायक वीपी कोइराला लगायत धेरै नेताहरूलाई पक्राउ गरेको इतिहास रहेको उनले जनाएका छन् ।

नेपालमा प्रजातन्त्रको स्थापना अथवा २००७ को ऐतिहासिक जनक्रान्तिको प्रस्थान विन्दु यही मजदुर आन्दोलन भएको देउवाले बताएका छन् ।

‘नेपाली कांग्रेस र मजदूरहरू सधैं एकअर्कामा आवद्ध भएर एकअर्काका अनन्य सहयोगी भएर रहिआएको कुरा सर्वविदितै छ’, देउवाले सन्देशमा भनेका छन् ।

Published : Friday, 2020 May 1, 1:52 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया