काठमाडौंमा निजी विद्यालयहरूको ई–क्लासको आतंक, लकडाउनमा निदायाे शिक्षा मन्त्रालय

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले विद्यालय खुल्ने विषयमा अहिले नै कुनै ठोस योजना नबनाएको जनाएको छ ।

मन्त्रालयका प्रवक्ता दीपक शर्माले लकडाउन खुलेको अर्को दिनबाट विद्यालय खुल्न नसक्ने बताए । उनले स्वास्थ्य मन्त्रालय, कोरोना संक्रमण जोखिम न्यूनीकरण सम्बन्धी उच्चस्तरीय समितिलगायतको सुझाव र निर्देशनमा मात्रै विद्यालय खुल्ने वा नखुल्ने विषयमा निर्णय हुने बताएका छन् ।

‘लकडाउन समाप्त भएको अर्को दिन विद्यालयहरू खुल्छन् भन्ने छैन’, उनले भने, ‘कोरोना संक्रमण जोखिम न्यूनीकरण सम्बन्धी उच्चस्तरीय समिति छ । स्वास्थ्य मन्त्रालय छ । हाम्रो आफ्नै तयारी पनि छ । ती सबैको सुझावअनुसार विद्यालय कसरी खोल्नेबारेमा निर्णय हुनेछ ।’

लकडाउन भएका देशहरूले लिएका निर्णय र कदमहरूलाई ध्यानमा राखेर विद्यालय कसरी र कुन मोडलमा खोल्ने विषयमा निर्णय गरिने मन्त्रालयका प्रवक्ता शर्माले बताए ।

काठमाडौं उपत्यकाभित्र रहेका निजी विद्यालयलेहरूले ई–क्लास सञ्चालन गरेका विषयमा शिक्षा मन्त्रालयले स्पष्ट जवाफ दिन सकेन । मन्त्रालयका प्रवक्ता शर्माले भने, ‘कुनै विद्यालयले विद्यार्थीलाई ई–क्लासमा पढाउँछन् भने त्यसमा के को आपत्ति ?’, उनले भने, ‘ई–क्लास भनेको विद्यालयको आफ्नो काम हो । सरकारले ई–क्लास चलाउन भनेको छैन । ई–क्लासमा पढाइ भइसक्यो भनेर पछि विद्यार्थीलाई पढाउँदिन भन्न पाइनेछैन । होइन भने कारबाही हुन्छ ।’

सबै विद्यार्थीसँग ईन्टरनेट, कम्युटर र अन्य प्राविधिक सुविधा नभएको विषयमा सोधिएको प्रश्नको जवाफमा मन्त्रालयका सचिव शर्माले भने, ‘हाम्रो देशमा विविधता छ । त्यस कारण सबैलाई ई–क्लास बाध्यात्मक होइन । कसैले ई–क्लासबाट पढाउन चाहन्छ र विद्यार्थीलाई पढाइमा केन्द्रित गराउँछ भने रोकतोक हुँदैन ।’

लकडाउनका बेला निजी विद्यालयहरूले भर्ना अभियान शुरु भयो भनेर म्यासेज गर्नेदेखि फोन गरेर दवाव दिन थालेका विषयमा प्रवक्ता शर्माले भने, ‘भर्ना अभियान शुरु भएको छैन । विद्यालयले परीक्षाको रिजल्ट अनलाइनमा राखेर पठाउँछन् भने त्यसलाई अन्यथा लिनु हुँदैन ।’

शिक्षा मन्त्रालयका प्रवक्ता शर्माले निजी विद्यालयहरूले काठमाडौं उपत्यकामा ई–क्लासको नाममा आतंक मच्चाएको विषयमा घुमाउरो भाषामा समर्थन जनाएका छन् । ई–क्लासका नाममा निजी विद्यालयहरूले मोटो शुल्क उठाउन समेत शुरु गरिसकेको अभिभावकहरूले गुनासो गर्दा समेत शिक्षा मन्त्रालय बेखबर भएपछि चिन्ता बढाएको छ ।

Published : Thursday, 2020 April 30, 8:54 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया