लकडाउनका बेला सरकारले मर्कामा परेका जनताको समस्या बुझ्न सकेनः कांग्रेस

काठमाडौं । नेपाली कांग्रेसका नेताहरूले झण्डै दुईतिहाइको कम्युनिस्ट सरकार चारैतिरबाट असफल भएको उसका हरेक गतिविधिले पुष्टि गरेको बताएका छन् ।

कोरोना भाइरसको संक्रमणका बेला समेत जनताका सामान्य विषयमा सरकारले ध्यान दिन नसकेको भन्दै कांग्रेस नेताहरूले आलोचना गरेका छन् ।

ललितपुरको सानेपामा बुधबार बसेको कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकमा धारणा राख्ने अधिकांश नेताहरूले कोरोना भाइरसको संक्रमणका लागि आवश्यक पर्ने स्वास्थ्य सामग्री खरिदमा समेत अनियमितता गरेको भन्दै आपत्ति जनाएको केन्द्रीय सदस्य योगेन्द्र चौधरीले जानकारी दिए ।

‘चीनबाट खरिद गरिएको स्वास्थ्य सामग्रीको गुणस्तरमा समेत प्रश्न उठेको छ । भ्रष्टाचारको कुरा उठेको छ’, चौधरीले भने, ‘महामाहरीको बेला सरकारलाई सबैले साथ दिएका बेला जनताको जीवन रक्षा गर्ने कुरामा समेत अनियमितता र भ्रष्टाचार हुनु गम्भीर विषय बनेको छ ।’

नेताहरूले स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको विषयमा सरकारले जवाफ दिनुपर्ने माग पनि उठाएका छन् ।

लकडाउनका कारण अति विपन्न र मजदुरहरूलाई खाद्यान्नको संकट परेको भन्दै केन्द्रीय सदस्य चौधरीले सरकारले सो विषयमा छिटोभन्दा छिटो ध्यान दिन सबै केन्द्रीय नेताहरूको धारणा रहेको जानकारी दिए ।

मुलुकको अर्थतन्त्र, खाद्य सुरक्षा, किसानहरूको समस्या, मल, बीउ आदिका विषयमा पनि कांग्रेसका नेताहरूले बैठकमा जोडदार माग राखेका छन् ।

Published : Wednesday, 2020 April 29, 8:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया