प्रदेश पाँचको कम्युनिस्ट सरकारले भेट्यो कांग्रेसको झटारो

बुटवल । नेपाली कांग्रेसले प्रदेश ५ को कम्युनिस्ट सरकारले पार्टीसंग कुनै छलफल र सल्लाह नगरी चीन भ्रमणमा जाने टोलीमा सांसदको नाम समावेश गरेको भन्दै विरोध जनाएको छ ।

बुटवलमा बुधबार बसेको प्रदेश सभाको बैठकमा कांग्रेसका सांसदहरूले पार्टीसँग परामर्श नगरेर सांसदको नाम राखेको भन्दै आपत्ति जनाएको हो ।

उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री लीला गिरीको नेतृत्वमा भदौ १० देखि १६ गतेसम्म हुने भ्रमण टोलीमा कांग्रेस सांसद निर्मला क्षेत्रीको नाम रहेको छ ।

प्रदेश सरकारले नेपाली कांग्रेस संसदीय दलसँग समन्वय नगरी आफ्नो दलकी सांसदको नाम समावेश गरेको भन्दै कांग्रेस सांसद बीरबहादुर रानाले प्रदेश सभा वैठकमा विरोध जनाएका हुन् ।

बिहीबार बसेको प्रदेशसभाको बैठकमा बिशेष समय लिएर बोल्दै सांसद रानाले प्रदेश सरकारले संसदीय मुल्य मान्यता मिचेर आफ्नो दलका सांसदको नाम आफुखुशी चयन गरेको भन्दै आपत्ति जनाए ।

‘हाम्रो दलका सांसदको नाम छनोट दलीय प्रतिनिधित्वको आधारमा गराइएको हो कि व्यक्तिगत रिलेशनको आधारमा हो ?’ सांसद रानाले प्रश्न गरेका छन् ।

‘यस विषयमा पार्टी संसदीय दलसँग समन्वय गरिएको छैन’, उनले भने, ‘यो संसदीय मूल्य मान्यता विपरीत हो ।’

उनले पाल्पाको भैरवस्थान मन्दिरमा चढाइने भेटी तथा दानको रकम अनियमितताका बिषयमा छानबिन गर्न माग गरेका छन् ।

पार्टीसंग समन्वय नगरी प्रदेश सरकारले पार्टीका सांसदको नाम छनोट गरेको बिषयलाई लिएर बिहीबार नै कांग्रेस संसदीय दलको बैठक बसेको थियो ।

बैठकले त्यस बिषयमा मुख्यमन्त्री तथा मन्त्रिपरिषदको ध्यानाकर्षण गराउने निर्णय समेत गरेको छ ।

भ्रमण टोलीमा भ्रमणमा मन्त्री गिरी सहित प्रदेशसभा सदस्यहरू दधिराम न्यौपाने, सरस्वती गौतम, निर्मला क्षेत्री, बावुराम गौतम, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव बसन्त अधिकारी, उद्योग पर्यटन वन तथा वातावरण मन्त्रालयका सचिव धनञ्जय पौडेल, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कृष्ण केसी र चिनियाँ भाषाका ज्ञाता डा. सागर न्यौपाने रहेका छन् ।

Published : Thursday, 2019 August 1, 9:37 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया