बालुवाटारको जग्गा बेच्न सहयोग गर्ने श्रेष्ठले आठाैँ तलाबाट हामफाल्दा…

काडमाडौं । बालुवाटार जग्गा प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिइरहेका पूर्वनायब सुब्बा युक्तप्रसाद श्रेष्ठको शंकास्पद रुपमा ज्यान गएको छ ।

५७ वर्षीय श्रेष्ठले आइतबार दिउँसो २ बजे बालाजुको हिमालयन सिटी सेन्टरको आठौं तलाबाट हाम फालेर ज्यान दिएको हुन सक्ने महानगरीय प्रहरी परिसर काठमाडौंले प्रारम्भीक अनुमान गर्दै जानकारी दिएको छ ।

श्रेष्ठ मालपोत कार्यालयबाट ०६० सालमा रिटायर्ड भएका थिए । उनको मृत शरीरलाई त्रिवि शिक्षण अस्पतालमा राखिएको परिसर प्रमुख एसएसपी उत्तमराज सुवेदीले जानकारी दिएका छन् ।

श्रेष्ठको ज्यान गएको विषयमा प्रहरीले अनुसन्धान शुरू गरेको एसएसपी सुवेदीले बताए । श्रेष्ठ किनमेल गर्न भनी गएका थिए । सोही क्रममा उनी सेन्टरबाट हाम्फालेको हुन सक्ने सुवेदीले बताएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारस्थित ललितानिवास परिसरको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने कार्यमा संलग्न रहेको अभियोगमा श्रेष्ठमाथि अख्तियारले बयान लिइरहेको थियो ।

मालपोत कार्यालय डिल्लीबजारमा रहँदा श्रेष्ठले कागजात बनाएर सरकारी जग्गा व्यक्तिका नाममा लैजान सहयोग गरेको आरोप थियो ।

नेपाली कांग्रेस पर्वतका जिल्ला सचिव समेत रहेका श्रेष्ठले मालपोत कार्यालय डिल्लीबजारमा नायब सुब्बा हुँदा बालुवाटारको जग्गा बिक्री गर्न भूमिका खेलेको आरोप छ ।

यसैबीच, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आठौँ तलाबाट हामफालेर ज्यान दिएका श्रेष्ठलाई आफ्नो मन मिल्ने साथी भएको जनाउँदै निधनको खबरले स्तब्ध भएको जनाएका छन् ।

‘नेपाली कांग्रेसका युवा नेता पर्वत जिल्ला सचिव एवम् मेरो अत्यन्त शुभचिन्तक विकास प्रेमी भाई युुुक्तप्रसाद श्रेष्ठको अकल्पनीय दुःखद् निधनको खबरले स्तब्ध भएको छु’, पौडलले फेसबुक पेजमा स्टाटस लेखेर भनेका छन्, ‘काठमाडौं माछापोखरीमा घरको छतबाट चिप्लिएर आफ्नो जीवन गुमाउन पुगेका श्रेष्ठको निधनले नेपाली कांग्रेसले एक असल संगठनकर्ता गुमाउन पुगेको छ ।’

उनले भनेका छन्, ‘श्रेष्ठको आत्माको चीरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछु ।’

Published : Sunday, 2019 July 28, 8:08 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया