प्रचण्डका कान्छा ज्वाइँसँग आइजीपी खनालको साँठगाँठ

काठमाडौं । सशस्त्र प्रहरीका आइजीपी शैलेन्द्र खनाल विवादमा परेका छन् । प्रधानमन्त्री ओली र गृहमन्त्री रामबहादुर थापा खनालको कार्यशैलीबाट धेरै खुसी छैनन् ।

खनालले आइजीपी पद जोगाउन नेतादेखि बिचौलियाहरूलाई पीएसओ, चालक र सुरक्षाकर्मी दिएका छन् । नेपाल प्रहरीले भीआइपीहरूलाई अनावश्यकरुपमा दिंदै आएका सुरक्षाकर्मी फिर्ता गरेको छ ।

नेपाल प्रहरीले आवश्यक नभएको भनी जसको घरबाट सुरक्षाकर्मी फिर्ता बोलायो, उनीहरूका घरमा सशस्त्र प्रहरीका आइजीपी खनालले चाकडी गर्न सुरक्षाकर्मी पठाउँदै आएका थिए ।
एउटा फौजको प्रमुख भएर अर्को फौजका बिरुद्ध कुरा लगाउने र साखुल्ले हुनका लागि आवश्यकै नभए पनि सुरक्षाकर्मी उपलब्ध गराउने काम खनालले गर्दै आएको आरोप छ ।

संगठनको एक बटालियन नै उनले नेता र बिचौलियादेखि सहसचिवहरूको चाकडीमा लगाएर आफ्नो पद सुरक्षित गर्न खोजेका छन् ।

आइजीपी खनाल पद जाने चिन्ताले छटपटीमा रहेको उच्च स्रोतको भनाइ छ । खनालले नेपालको सूचना दूताबासलाई हरेक साता बुझाउने गरेको नेपाली सेनाले समेत थाहा पाइसकेको स्रोतको भनाई छ ।

सेनाले यो कुराको जानकारी प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई समेत दिइसकेको छ । प्रधानमन्त्री ओलीले उनलाई त्यति रुचाएका छैनन् । खनाललाई भेट्न समेत नदिएको स्रोतले बताएको छ ।

सशस्त्र प्रहरी बलमा गुटबन्दीले जरा गाडेको छ । आइजीपी नै गुटबन्दी गरी आफ्नै अफिसरको क्यारियर सिध्याउने षडयन्त्रमा सामेल हुने गरेका छन् ।

गृहमन्त्री, गृहसचिव र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा समेत आफ्नै संगठनका अधिकृतबिरुद्ध झुटा जानकारी दिने र उजुरी समेत दिने हर्कत खनालले गरेको खुलासा विस्तारै हुन थालेको छ ।

प्रदेश १ बाट भर्खरै सरुवा भएका डीआइजी मन्दीप श्रेष्ठबिरुद्ध आइजीपी खनालले एसपी नानीराम हुमागाइँलाई परिचालन गरी सशस्त्र मुख्यालय, अख्तियार जस्ता निकायमा उजुरी हाल्न लगाएको आरोप लाग्ने गरेको छ ।

उजुरीका आधारमा खनालले कारबाही गर्न लागेका छन् । त्यो उजुरी हालेबापत आइजीपी खनालले एसपी हुमागाइँलाई प्राविधिक भए पनि इञ्चार्ज दिएको स्रोतले जनाएको छ ।

सशस्त्रमा संगठन प्रमुखको इशारामा एआइजी, डीआइजीबिरुद्ध मात्र होइन, धेरै अधिकृतका बिरुद्ध झुटा उजुरी हाल्ने काम हुमागाइँबाटै खनालले गराउँदै आएको चर्चा छ ।

एकै प्रकृतिका उजुरी पटक–पटक हाल्ने र अख्तियारलाई समेत हैरान पार्ने गरेपछि त्यस्ता उजुरी प्रारम्भिक अवस्थामै च्यातेर फाल्ने गरिएको स्रोतले जनाएको छ ।

अर्धसैनिक प्रकृतिको सशस्त्र प्रहरी बलका प्रमुख भइसकेका खनाल सबैको अभिभावक हुनुपर्नेमा एकथरीलाई च्याप्ने र अर्काथरीलाई पेल्ने गर्दा विवादमा परेका छन् ।

खनाल हरबखत पद कसरी जोगाउने भन्ने चिन्तामा हुन्छन् । खनाल नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का कान्छा ज्वाइँ जीवन आचार्यको चाकडीमा दैनिक धाउने गरेको आरोप छ ।

त्यसका अलावा वाइसीएलमा आवद्ध भन्दै सुरज अधिकारी सशस्त्र मुख्यालयमै बास बनाएर बसेका हुन्छन् । उनी एसपी र एसएसपीलाई समेत हप्कीदप्की दिने गर्दछन् ।

संगठनको मुख्यालयमा बिचौलिया अधिकारीले अधिकृतलाई हप्कीदप्की गर्ने साहस कसरी गरे ? यो प्रश्नले अधिकृतहरूको मन चसक्क हुने गर्दछ । संगठन प्रमुखका कारण सशस्त्रका अधिकृतहरू बिचौलियाको हप्काई खाने निरीह सावित भएका छन् ।

नरेश भट्ट नामका बिचौलिया पनि बाक्लै सशस्त्रमा आउनेजाने गर्दछन् । उनले सशस्त्रको हल आफन्तको विवाह गर्न पटक–पटक निःशुल्क प्रयोग गर्दै आएका छन् ।

मिटरब्याजी नरेश भट्टले आइजीपी खनालको भ्रष्टाचारको पैसा लगानी गरेको स्रोतको दाबी छ ।

बिचौलिया सुवास राई पनि सशस्त्र प्रहरी बलका आइजीपीका भित्रिया हुन् । उनी पनि सशस्त्रका ठेक्कापट्टादेखि सरुवामा पनि मोलमोलाई गर्ने व्यक्ति हुन् ।

सुशील कोइराला प्रधानमन्त्री हुँदा राईको पहुँच बालुवाटारमा थियो । त्यतिबेलादेखि नै खनालले उनलाई समातेर बढुवादेखि विभिन्न लाभ लिएका थिए ।

Published : Friday, 2019 July 5, 1:16 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया