विश्वप्रकाशको विज्ञप्तिले गुटहरूको सातो गयो, कार्यकर्ताले बल्ल कुरा बुझे

काठमाडौं । नेपाली कांग्रेसले आफूलाई समायानुकूल सबल र सुदृढ बनाउँदै अगाडि बढ्ने जनाएको छ ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बिहीबार साँझ विज्ञप्ति जारी गरेर भनेका छन्, ‘नेपाली कांग्रेसलाई समयानुकूल सबल र सुदृढ गर्दै अघि बढ्न केन्द्रीय कार्यसमितिको आगामी बैठकले पारदर्शी छलफल र बहस मार्फत आवश्यक निर्णयहरू लिनेछ ।’

विभिन्न गुट र उपगुटका बैठक तथा भेलाहरू भइरहेका बेला नेपाली कांग्रेसले आफ्नो आधिकारिक धारणा सार्वजनिक गरेको छ ।

‘नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको वैशाख २२ गते प्रारम्भ हुने बैठकले पार्टीको घरेलु सन्दर्भ र राष्ट्रिय राजनीतिका बारेमा जरुरी निर्णय गर्ने नै छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान र पार्टीको संशोधित विधान अनुरुपका पार्टी संरचनाहरू निर्माण गर्ने सम्बन्धमा बैठकले आवश्यक निर्णय लिनेछ । तर केन्द्रीय समितिको बैठकको पूर्व सन्ध्यामा कतिपय अस्पष्टता विभिन्न माध्यमबाट सार्वजनिक भएका कारण सबै भ्रम निवाराणार्थ यो विज्ञप्ति जारी गरिएको छ ।’

नेपाली कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘पार्टीको संशोधित विधानको अन्तिम टुंगो भए पश्चात केन्द्रीय समितिले विधानको कार्यान्वयनका लागि आवश्यक नियमावली संशोधन गर्न गठन गरेको मस्यौदा समितिले आगामी बैठकमा आफ्नो प्रतिवेदन प्रस्तुत गर्नेछ । बैठकले नियमावली पारित गरे पश्चात पार्टीका सबै तहको संरचना निर्माण गर्न मार्ग प्रशस्त हुनेछ ।’

‘जागरण अभियानको प्रथम चरणका अनेक उद्देश्यमध्ये संशोधित विधानलाई स्थानीय तहसम्म पार्टी पंक्तिमा व्यापक सुसूचित गर्ने उद्देश्य पनि एक थियो । विधान बुझाउने चरणमै विधान अनुरुपको संरचना प्राप्त हुने कार्यक्रम निर्धारित थिएन’, विज्ञप्तिमा भनिएको छ, ‘दोस्रो चरणको जागरण अभियान पूर्व नै विधान अनुरुपको सबै संरचना निर्माण गरिने घोषणा वैशाख ३० गतेको पत्रकार सम्मेलनमार्फत भइसकेको छ ।’

‘नेपाली कांग्रेसको विधानको धारा ७२ को ४ ले पार्टी संगठनको अन्तरिम व्यवस्था बारेमा प्रष्ट व्यवस्था गरेको छ’, विज्ञप्तिमा भनिएको छ, ‘नेपालको संविधान बमोजिमका नवीन संरचनाहरू पार्टीको विधानले निर्दिष्ट गरेको प्रष्ट व्यवस्था अनुरुप नै गठन हुनेछन् ।’

‘सो भन्दा बाहिर सभापतिले तदर्थ समिति गठन गर्न चाहेको भन्ने अभिव्यक्ति र समाचारहरु विल्कुलै निराधार यसकारण पनि छ की नेपाली कांग्रेसको विधानमा पार्टीको नवीन संरचनाहरु गठनका लागि तदर्थ समितिको कुनै प्रावधान छैन’, प्रवक्ता शर्मामाले भनेका छन् ।

‘विधानले निर्दिष्ट गरे बमोजिम देशव्यापी रुपमा पार्टी संगठनको अन्तरिम व्यवस्था गर्दै नेपाली कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरणमा प्रविष्ट हुनेछ’, नेपाली कांग्रेसका प्रवक्ता शर्माले भनेका छन्, ‘केन्द्रीय समितिको बैठक लगतै नेपाल विद्यार्थी संघ लगायतका भ्रातृ संस्थाहरूबारे जरुरी निर्णय आवश्यक परामर्श पश्चात् हुनेछन् ।’

वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला, नेता कृष्णप्रसाद सिटौला, प्रकाशमान सिंहसहितका नेताहरूले सभापति शेरबहादुर देउवाविरुद्ध गतिविधि गरिरहेका बेला प्रवक्ता शर्माले विज्ञप्ति जारी गरेर पार्टीभित्रको आन्तरिक विषयमा जानकारी गराएका हुन् ।

Published : Thursday, 2019 July 4, 10:29 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया