गोली हानाहानमा विप्लवका दुई कार्यकर्ता बेपत्ता

काठमाडौं । नेत्रविक्रम चन्द नेतृत्वको नेकपाले संखुवासभाको तिलिचुङ गाउँपालिका प्रहरीसँग भएको दोहोरो गोली हानाहान घटनामा आफ्ना दुई जना कार्यकर्ता बेपत्ता भएको दाबी गरेको छ ।

तिलिचुङ वडा नम्बर १ मा असार १६ गते विप्लव समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको थियो ।

सो क्रममा आफ्ना तीन जना कार्यकर्ता सम्पर्कविहीन रहेकोमा एक जना कार्यकर्तालाई सम्पर्कमा आएको भए पनि उनी प्रहरीले नै नियन्त्रणमा रहेको र अन्य दुई जना बेपत्ता रहेको विप्लव समूहको दाबी छ ।

विप्लवको पूर्वी केन्द्रीय कमाण्डले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै तीन बेपत्ता कार्यकर्तामध्ये सुजन अधिकारीलाई प्रहरीले गिरफ्तार गरेर राखेको दाबी गरेको छ ।

अन्य दुई कार्यकर्ताको अवस्था ‘अज्ञात’ रहेको विप्लव माओवादीको दाबी छ ।

पूर्वी कमाण्ड इञ्चार्ज विषमले प्रेस विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘टोलीका सबै ज्यान जोगाउन सफल भए पनि तीन जना सम्पर्कबिहीन भएकोमा एक जना सम्पर्कमा आएका छन्, दुई जनाको अवस्था अज्ञात रहेको छ ।’

विज्ञप्तिमा पार्टी कार्यकर्ताहरू संगठन सुदृढीकरण र विस्तार अभियानमा पुगेका बेला प्रहरीले तीन वटा हेलिकप्टरसमेत खटाएर घेरा हाली एकोहोरो गोली चलाएको र त्यसलाई दोहोरो भिडन्तको संज्ञा दिएको दाबी गरिएको छ ।

उच्च प्रहरी स्रोतका अनुसार सदरमुकाम खाँदबारीबाट सोमबार १७ जनाको प्रहरी टोली तिलिचुङमा गएको थियो । प्रहरीको गस्ती टोलीलाई विप्लव कार्यकर्ताले गोली हानेपछि जवाफी फायरिङ गरिएको एक अधिकारीले बताए ।

Published : Thursday, 2019 July 4, 12:07 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया