काठमाडौंमा पौडेल–सिटौला–कोइराला समूहको गोप्य भेला

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री डा.शशांक कोइराला र कृष्णप्रसाद सिटौला समूहका नेताहरूले गोप्य बैठक गरेका छन् ।

काठमाडौंमा उनीहरूले गोप्य बैठक गरेका हुन् । केन्द्रीय समिति बैठक आउन पाँच दिनअघि पौडेल–कोइराला–सिटौला समूहका नेताहरू एकै ठाउँमा उभिएका हुन् ।

नेपाली कांग्रेसले आउँदो आइतबार केन्द्रीय कार्यसमितिको बैठक बोलाएको छ । पहिलो चरणको राष्ट्रिय जागरण अभियान शुरू हुनुपूर्वदेखि केन्द्रीय बैठक बसेको थिएन ।

२२ गते हुने बैठकमा देशैभर भएको जागरण अभियानको समीक्षा, विभागहरू गठन, भ्रातृ संस्था नेपाल विद्यार्थी संघको तदर्थ समिति गठन, तरुण दललाई पूर्णता दिनेलगायत एजेन्डामा छलफल हुन लागेको छ ।

सोही कारण पौडेल–कोइराला–सिटौला समूहका नेताहरू रणनीति बनाउन छलफल गरेका हुन् ।

मंगलबार साँझ ५ बजेदेखि चार घण्टा नुवाकोट जिल्ला सभापति जगदीश्वरनरसिंह केसीको काठमाडौंस्थित घरमा पौडेल–कोइराला–सिटौला समूहको गोप्य बैठक बसेको स्रोतले जनाएको छ ।

बैठकमा महामन्त्री डा.शशांक कोइराला, पूर्वमहामन्त्री प्रकाशमान सिंह, केन्द्रीय सदस्य सुजाता कोइराला पनि सहभागी रहेको जनाइएको छ ।

केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवाले विभागहरू, भातृ संस्था गठन र पूर्णताको एजेन्डा ल्याउन लागेपछि पौडेल–सिटौला समूह छलफलमा जुटेका हुन् ।

Published : Wednesday, 2019 July 3, 12:09 am

फेसबुकबाट तपाईको प्रतिक्रिया