काम गर्ने कांग्रेसले हो, भीभीआइपीहरूले आश्वासन मात्रै दिएः रामहरि खतिवडा

ओखलढुंगा । नेपाली कांग्रेसका युवा नेता एवम् पूर्वसांसद रामहरि खतिवडाले ओखलढुंगामा राष्ट्रपतिसहितका उच्च राजनीतिक नेतृत्व आएर आश्वासन दिएर एक रुपियाँ पनि बजेट नदिएको भन्दै आक्रोश पोखेका छन् ।

ओखलढुंगा जिल्लाको चम्पादेवी गाउँपालिकाको पाँचौँ गाउँ अधिवेशनलाई मंगलबार सम्बोधन गर्दै युवा नेता खतिवडाले ओखलढुंगामा हेलिकप्टर चढेर आएर आश्वासन मात्रै दिने कार्यले स्थानीय जनताको मन दुखेको बताए ।

‘हामीले राष्ट्रपति, उपप्रधानमन्त्री, मुख्यमन्त्री, खानेपानी मन्त्री, उर्जा मन्त्री, पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई यहाँ ल्यायौँ’, उनले भने, ‘उहाँहरू आउनुभयो ठूला ठूला आश्वासन दिनुभयो । बजेटमा ओखलढुंगाका लागि एक रुपियाँ पनि राखिदिनुभएन ।’ उनले ओखलढुंगा र देशको विकास गर्ने भनेको नेपाली कांग्रेस मात्रै भएको बताए ।

ठूला राजनीतिक नेतृत्व आउँदा पनि ओखलढुंगाको लागि विकासका लागि बजेटमा रकम पार्न नसकेकोमा खतिवडाले चिन्ता जनाए ।

‘सत्तारुढ दलको हाम्रो माननीय यज्ञराज सुनुवार हुनुहुन्छ । सांसदलाई दिइएको छ करोड बाहेक कति बजेट जिल्लामा ल्याउनु भयो रु’ उनले प्रश्न गर्दै भनेका छन्, ‘चम्पादेवी गाउँपालिकामा अहिले कति बजेट दिनुभयो रु गत वर्ष २५ लाख दिनुभएको थियो । यस पटक बढ्छ कि बढ्दैन ?’

तत्कालीन एमालेबाट ओखलढुंगाबाट प्रतिनिधि सभामा निर्वाचित सांसद यज्ञराज सुनुवारले जिल्लामा विकासका कार्यक्रमहरू ल्याउन नसकेको भनेर उनकै दल नेकपाका जिल्ला नेता र कार्यकर्ताहरूले आरोप लगाउँदै आएका छन् ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले भने, ‘यज्ञराज माननीयज्यूले ओखलढुंगामा विकासका कार्यक्रम ल्याउनु भयो भने मैले पनि तपाईलाई सम्मान गर्छु । तपाईको तस्वीर घरमा ल्याएर राख्छु । तपाईले जिल्लाको विकास गर्न सक्नु भएन भने तपाईकै आफन्तले तपाईको फोटो फाल्नेछन् ।’

नेपाली कांग्रेसको नेतृत्वमा मुलुकले संविधान पाएको बताएका युवा नेता खतिवडाले संविधान बनेसँगै देशमा संघीयता र विकास आएको बताए । ‘सुशील कोइरालाको नेतृत्वमा संविधान मात्रै बनाएनौँ देशमा विकास पनि गरेका छौँ । स्थानीय तह, प्रदेश र प्रतिनिधि सभाको निर्वाचन समेत गरेका छौँ’, उनले भने, ‘अब विकास गर्ने पालो भनेको नेकपाको हो । तर, विकास हुने कुनै छाँटकाँट देखिएन ।’

युवा नेता खतिवडाले ओखलढुंगा जिल्लामा पछिल्लो समय केन्द्रीयस्तरका विकासका कार्यक्रमहरू आउन नसकेको बताए । खतिवडाले आफ्नो पालामा आएका कार्यक्रमहरूलाई पनि दुईतिहाइको सरकारले बजेट कटौती गरेर सम्पन्न हुनबाट अबरोध गर्ने प्रयास भइरहेको बताए ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले जिल्लामा विकासको कार्यक्रम ल्याउँदा सबैले खुसी मान्नुपर्ने बताए । उनले कामको ठेक्का लिएर काम नगर्ने ठेकेदारलाई कारबाही गर्न पनि माग गरेका छन् ।

चम्पादेवी गाउँपालिकाको सबै वडाहरूमा विद्युत पु¥याउन आफूले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङसँग कुरा गरेको बताएका खतिवडाले भने, ‘कुलमानजीले बोलाउनु भएको छ । विद्युतीकरणका लागि ३ करोड रुपियाँ दिन्छु भन्नुभएको छ । उहाँले पैसा दिनुभयो भने सबै वडामा बत्ती बल्नेछ । पिउने पानी आउनेछ ।’

बत्ती नहुँदासम्म खानेपानीको समस्या पनि समाधान गर्न कठिन हुने नेपाली कांग्रेसका नेता खतिवडाले बताए । उनले चम्पादेवीका जनतालाई पानीजहाज र रेलभन्दा पनि पहिला पिउने पानी र बिजुली आवश्यक रहेको बताए ।

खतिवडाले दुईतिहाइको सरकारको दलको सांसद हुँदा पनि यज्ञराज सुनुवारले कार्यक्रम र बजेट पार्न नसकेको भनेर आक्रोश व्यक्त गरे । ‘मेरो दलको दुईतिहाइको सरकार हुन्थ्यो भने तथा म सांसद थिएँ भने ओखलढुंगाका अधिकांश बाटो पिच बनाउथेँ । रातो कितावमा राख्ने थिएँ । सांसद भनेको वडाध्यक्ष होइन । केन्द्रसँग समन्वय गरेर आफ्नो जिल्लामा विकासका कार्यक्रम पार्नुपर्छ । जनताका काम गर्नुपर्छ ।’

संघीय सरकारको बजेट १५ खर्बको हुँदै गर्दा चम्पादेवी गाउँपालिकाको बजेट घट्दै गएकोमा खतिवडाले चिन्ता जनाए । प्रदेश सरकार र प्रदेश सांसदहरूले पनि ओखलढुंगामा विकास बजेट ल्याउन नसकेकोमा उनले आपत्ति जनाए ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले ओखलढुंगाको बजेट रकमान्तर गरेर प्रधानमन्त्री खड्गप्रसाद ओलीले आफ्नो गृहजिल्ला झापा लगेको भन्दै ओलखढुंगाका सांसद यज्ञराज सुनुवारले बजेट रकमान्तर हुनबाट रोक्न नसकेको भनेर आपत्ति जनाए ।

नेपाली कांग्रेसका युवा नेता खतिवडाले नेकपाका सांसद यज्ञराज सुनुवारलाई सरकारले दिएको ल्यापटप नलिने सुझाव दिएका छन् । ‘भूकम्प जाँदा सांसदहरूले आफ्नो व्यक्तिगत लाभका लागि काखीमा पाल बोकेर हिँडे । मैले मेरो जिल्ला ओखलढुंगाका जनताले पाल नपाउँदासम्म लिन्न भनेर लिइन’, उनले भने, ‘हिम्मत छ भने माननीय यज्ञराज सुनुवारज्यू ओखलढुंगाका हरेक स्कुलमा कम्युटर नजादासम्म ल्यापटप लिदैन भनेर घोषणा गर्नुस् ।’

मञ्चमा रहेका सत्तारुढ नेकपाका सांसद यज्ञराज सुनुवारले नेपाली कांग्रेसका नेता खतिवडाको कुरा सुनेर मुस्कुराइ रहेका थिए ।

चम्पादेवी गाउँपालिकाका अध्यक्ष नवराज केसीले गाउँपालिकामा खानेपानी, बाटो, बिजुली आदिको समस्या रहेको बताए । उनले सांसद, पूर्वसांसद र अन्य नेताहरूलाई चम्पादेवी गाउँपालिकाको समस्याका बारेमा विशेष ध्यान दिन आग्रह गरेका थिए ।

Published : Tuesday, 2019 July 2, 8:36 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया