राष्ट्रपतिद्वारा भात खाने ठाउँमा सर्वसाधारणलाई विभेद, शीतल निवासमै ठूलो काण्ड

काठमाडौं । कम्युनिस्ट सरकारका प्रधानमन्त्री खड्गप्रसाद ओलीको मञ्चमा एक्लो सोफा काण्ड सेलाउन नपाउँदै राष्ट्रपति विद्यादेवी भण्डारीले खाना खाने बेला पनि दुई वटा भान्सा बनाएको रहस्य बाहिर आएको छ ।

अघिल्लो साता निर्वाचन आयोगले राष्ट्रपति कार्यालय शीतल निवासमा निर्वाचनसम्बन्धी विशेष गोष्ठी राखेको थियो । त्यसमा पूर्वप्रधानमन्त्रीहरू पनि आमन्त्रित थिए ।

गोष्ठीमा भाग लिन पुगेकाहरूलाई खाना खाने बेला अलग अलग भान्सामा खाना खुवाइएको थियो । कम्युनिस्ट पार्टीको राजनीति गरेर उच्च तहमा पुगेकाहरूले नै राष्ट्रपति कार्यालयभित्रै खानपिनमा यसरी विभेद हुने गरेर क्रियाकलाप गरेपछि धेरैले कुरा काट्न थालेका छन् ।

‘गोष्ठीसम्म त समाजवाद नै थियो, तर खाना खाने वेला समाजवाद ढल्यो’, नयाँ पत्रिका दैनिकको विचारमा पृष्ठमा कृष्णज्वाला देवकोटाले आर्टिकलमा लेखेका छन्, ‘भान्सा दुईथरी थिए ।’

राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, राष्ट्रिय सभाका अध्यक्ष र निर्वाचन आयोगका पदाधिकारीलाई बेग्लै ‘उपाध्याय’ भान्छाको व्यवस्था थियो । अरू ‘जैसी’लाई बेग्लै ।

देवकोटाले आफ्नो आर्टिकलमा लेखेका छन्, ‘त्यसै पनि हाम्रो गणतन्त्रमा गाँडैगाँड पलाएका छन् । हिजो साम्यवादका लागि कालकोठरीमा नेल व्यहोरेका प्रधानमन्त्रीलाई अब मञ्चमा एक्लो सोफा चाहिन्छ ।’

‘हिजो जनताको भकारो सोहोरेर सेल्टर बसेकी राष्ट्रपतिलाई सडक मात्र होइन, आकाश पनि खाली चाहिन्छ’, देवकोटाले लेखेका छन्, ‘लामो समय परदेशमा चौकिदारी गरेर जीवन र क्रान्ति धानेका मुख्यमन्त्रीलाई अब पाइलो सार्नुअघि जताततै रातो कार्पेट चाहिन्छ ।’

उनले भनेका छन्, ‘एक वर्षअघि मात्र भेटेजतिलाई जम्लाहात गरेर पालिकामा पुगेका मेयरसाबहरूलाई अब आफ्नै बाबुआमासँग पिर्के सलामी चाहिन्छ ।’

प्रधानमन्त्रीकै वृक्षरोपण कार्यक्रममा पनि पछिल्लो लहरमा वरिष्ठ मन्त्रीहरू नै थिए । आफ्नै मन्त्रीसँग एउटै लहरमा बस्न प्रधानमन्त्रीलाई अरुचि भयो होला कि आयोजकले त्यसलाई प्रधानमन्त्रीको अपमान ठाने होलान् ?

‘दोष नेताको मात्रै पनि होइन । को होला त्यो चाकर, जसलाई पिर्कामा रातो टालो बेर्दा लाज लाग्दैन ? को होला त्यो मञ्च व्यवस्थापक, जसलाई प्रधानमन्त्रीका लागि सिंहासन टाइपको सोफा छुट्याउँदा संकोच हुँदैन ?’, देवकोटाले भनेका छन्, ‘त्यो होली वाइन पिएको वामपन्थ हो । आत्मा मरिसकेको विकृत वामपन्थ, जो कमरेडलाई राजा बनाउन र आफू चमर हल्लाएर बक्सिस लिन प्रयत्नशील छ ।’

राष्ट्रपति भण्डारीको सवारीमा पनि बाटो बन्द गरेर जनतालाई दुःख दिएको, आकाशमा हवाइ उडान बन्द गराउनेदेखि १८ करोडको विलासी गाडी, साढे दुई अर्बको हेलिकप्टरलगायतका सुविधा लिएको भनेर आलोचना भइरहेका बेला भात खाने भान्सामा पनि विभेद भएको समाचार बाहिर आएको छ ।

बजेटका बेला मेरो सरकार भनेर आलोचित बनेकी राष्ट्रपति भण्डारीको भात खाने भान्सा काण्डले अर्को बबण्डर मच्चाएको छ ।

Published : Tuesday, 2019 July 2, 12:46 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया