कम्युनिस्टहरूले भ्रष्टाचार गरेपछि घोराहीमा कांग्रेसको प्रदर्शन, मेयरलाई चीनमा तनाब

काठमाडौं । दाङको घोराही उपमहानगरपालिकाले बजेट दुरुपयोग गरेर कमसल खालको कालोपत्रे (पिच) गरेको भन्दै नेपाली कांग्रेस क्षेत्र नं. ३ ले मंगलबार विरोध प्रदर्शन गरेको छ ।

घोराही उपमहानगरपालिकाले असारे बजेट खर्च गर्न करीव ६ किलो मिटर बाटोमा कालोपत्रे गरेर बजेट झ्वाम पारेको भन्दै सडकमा उत्रिएर विरोध प्रदर्शन गरेको छ ।

कम्युनिस्टहरूको कब्जामा रहेको घोराही उपमहानगरपालिकामा भ्रष्टाचार र अनियमितता हुँदै आएको यसअघि पनि आरोपहरू लाग्दै आएको थियो ।

उपमहानगरभित्रको कालोपत्रे उप्किएर छररीहरू यत्रतत्र भएपछि नेपाली कांग्रेसले भ्रष्टाचार भएको भन्दै विरोध प्रदर्शन गरेको हो । नेपाली कांग्रेसल क्षेत्र नं. ३ ले भ्रष्टचारीहरूलाई कारबाहीको माग गरेको छ । सडक कालोपत्रे काण्डमा मुछिएकाहरूको विषयमा छानविन गर्न पनि कांग्रेसले माग गरेको छ ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ को आयोजनामा भएको भ्रष्टाचार विरोधी प्रदर्शनमा कांग्रेसका नेता तथा कार्यकर्ताले नारावाजी समेत गरेका थिए ।

घोराहीको न्युरोडदेखि शुरू भएको विरोध र्‍याली दामोदर चोक, शहीद गेट हुँदै तुलसीपुर चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।

नेपाली कांग्रेस दाङ क्षेत्र नं. ३ का क्षेत्रीय सभापति भुपबहादुर डाँगीले उपमहानगरपालिकाको नेतृत्वले कालोपत्र गर्ने बहानामा लाखौँ रकम भ्रष्टाचार गरेर गुणस्तरहीन काम गरेको बताए ।

‘घोराही उपमहानगरपालिकाले तीन वटा बजेट ल्यायो । विकास हुन्छ भने सहयोग गर्नुपर्छ भनेर अहिलेसम्म चुप लागेर बस्यौँ’, उनले भने, ‘नेपाली कांग्रेसले केही गर्दैन भनेर हाँकाहाँकी भ्रष्टाचार अनियमितताहरू हुन थाल्यो । बाध्य भएर हामीले खबरदारी गर्न विरोध प्रदर्शन गरेका हौँ ।’

क्षेत्रीय सभापति डाँगीले अबका दिनमा घोराही उपमहानगरपालिका भित्र हुने कुनै पनि प्रकारको अनियमितता र भ्रष्टाचारविरुद्ध नेपाली कांग्रेस पर्खाल बनेर विरोधमा उत्रिने चेतावनी दिए ।

उनले जनतासँग चर्को कर उठाएर विकासका नाममा कमसाल खालको काम गरेर चरम भ्रष्टाचार हुँदा नेपाली कांग्रेस चुप लागेर नबस्ने बताए । असार सकिनै लाग्दा बजेट सक्ने उदेश्यले कमसलखालको कामहरू धमाधम भइरहेको क्षेत्रीय सभापति डाँगीले जानकारी दिए ।

घोराही उपमहानगरपालिकामा ६ वटा वडामा नेपाली कांग्रेसले जितेको छ । मेयर र उपमेयरसहित अन्य वडाहरूमा पूर्वएमाले र पूर्वमाओवादी केन्द्रले जितेका छन् ।

घोराही उपमहानगरपालिका नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद एवम् सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको क्षेत्र पर्छ । मुख्यमन्त्री पोखरेल चीन भ्रमणमा निस्किएका बेला उनको क्षेत्रमा नेपाली कांग्रेसले भ्रष्टाचारविरुद्ध प्रदर्शन गरेको छ । पोखरेलसँग मेयर चौधरीपनि चीन भ्रमणमा गएका छन् ।

पूर्वएमाले पृष्ठभूमि भएका मेयर नरुलाल चौधरीले आफ्नो दल निकटका वडाध्यक्षहरूलाई होटेलमा राखेर केही दिन अगाडि बजेट बाँडफाँट गरेर नेपाली कांग्रेस निकटका वडाध्यक्षहरूलाई बाइपास गरेपछि नगरपारिषदको बैठकलाई नेपाली कांग्रेस निकटका ६ जना वडाध्यक्षहरूले बहिस्कार समेत गरेका थिए ।

विरोध सभालाई नेपाल महिला संघ क्षेत्र नं. ३ की अध्यक्ष जानुका केसी, नेविसंघका नेता तिलक रावत, घोराही उपमहानगरपालिका कार्यसमितिका उपसभापति दिलिप डिसी, नेपाली कांग्रेसका नेता एवम् १५ वडाका वडाध्यक्ष रमेशकुमार पाण्डे, नेपाली कांग्रेस दाङ जिल्ला कार्यसमितिका सचिव शंकरप्रसाद डाँगीसहितका नेताहरूले कोण सभालाई सम्बोधन गरेका थिए ।

घोराही उपमहानगरपालिकाका मेयर नरुलाल चौधरीले करीव ६ किलो मिटर सडक कालोपत्रे गर्न भन्दै ७२ लाखमा ठेक्का दिएका थिए । एक करोड २१ लाखको टेण्डरलाई एउटा निर्माण कम्पनीले ७२ लाखमा आफ्नो पोल्टामा पारेको थियो ।

नेपाली कांग्रेस क्षेत्र नं. ३ का सभापति डाँगीले मुस्किलले १०–१५ लाखको काम मात्रै भएको दाबी गरे । ‘काम भएको देखिदैन । जुन मात्रामा सामाग्रीहरू राखेर गर्नुपर्ने हो राखिएको छैन’, उनले भने, ‘जनताको करलाई लुट्नेहरूलाई नेपाली कांग्रेसले छाड्दैन । जुन कामका लागि कर उठाइएको हो त्यही काममा सदुपयोग गर्नुपर्छ ।’(तस्वीर सौजन्य पत्रकार निशानदाजु भट्टराईको फेसबुकबाट साभार)

Published : Tuesday, 2019 July 2, 10:23 am

फेसबुकबाट तपाईको प्रतिक्रिया