रेणु दाहाललाई जिताउन मतपत्र च्यात्ने माओवादीलाई जरिवाना

भरतपुर । पुष्पकमल दाहाल ‘प्रचण्ड’की छोरी रेणु दाहाललाई भरतपुर महानगरपालिकाको मेयरमा जिताउन भन्दै मतपत्र च्यात्ने तत्कालीन माओवादीका दुई जना कार्यकर्तालाई दोषी ठहर गर्दै चितवन जिल्ला अदालतले एक–एक लाख जरिवानाको फैसला गरेको छ ।

स्थानीय तहको निर्वाचनमा भरतपुर महानगरपालिकाको मत गणना हुँदै गर्दा मतपत्र च्यातेको अभियोगमा दोषी ठहर भएका दुई जनाविरूद्ध एक–एक लाख जरिवाना गरिएको हो ।

जिल्ला अदालत चितवनले मतपत्र च्यात्ने माओवादीका कार्यकर्ता द्रोण शिवाकोटी र मधु न्यौपानेलाई जरिवान सजाय तोकेको छ ।

अदालतका श्रेष्तेदार रुद्रमणि गिरीका अनुसार अदालतका न्यायाधीश मुरारीबाबु श्रेष्ठको इजलासले मतपत्र च्यात्ने मुख्य अभियुक्तलाई जरिवाना सजाय सुनाएको छ ।

अदालतले गत जेठ ३० गते उनीहरुलाई दोषी ठहर गरिए पनि सोमबार सजाय सुनाएको छ ।

तत्कालीन समयमा महानगरको निर्वाचनमा प्रमुख पदमा प्रतिस्पर्धी रेनु दाहाल र देवी ज्ञवालीबीच मतान्तरको विषयमा दाहाल पक्षका मत गणनामा सलंग्न उनीहरूले मतपत्र च्यातेका थिए ।

महानगरपालिकाको मतगणना अन्तिम हुँदै गर्दा ०७४ जेठ १४ गते मध्यरातमा मतपत्र च्यातिएका थिए ।

मतपत्र च्यातिएपछि भरतपुर–१९ मा पुनः साउन २० गते मतदान भएको थियो ।

पछि भएको निर्वाचनमा कांग्रेस र तत्कालीन माओवादी केन्द्र गठबन्धनका उम्मेदवार दाहालले तत्कालीन एमाले उम्मेदवार ज्ञवालीलाई २०३ मतले हराएर मेयरमा निर्वाचित भएकी थिइन ।

मतगणनाका क्रममा मतपत्र च्यात्ने शिवाकोटी र न्यौपानेलाई तत्कालीन समयमा एक–एक लाख धरौटीमा अदालतले रिहा गरेको थियो ।

Published : Monday, 2019 July 1, 11:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया