घेराबन्दीमा परेका ओलीले कांग्रेसलाई पहिलो पटक गुहारे, प्रचण्डलाई धक्का

काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई ‘विचरो’, ‘निम्छरो’ भनेर अपमानित गरेका प्रधानमन्त्री खड्गप्रसाद ओलीले त्यही नेपाली कांग्रेससँग मिलेर काम गर्न इच्छुक रहेको बताएका छन् ।

आफ्नै दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का नेताहरूको घेराबन्दीमा परेर असफलतातिर धकेलिन थालेपछि ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेसलाई विश्वासमा लिएर अगाडि बढ्ने संकेत देखाएका हुन् ।

असफलता मात्रै होइन ओलीले आफ्नै दलका केही नेताहरूको गतिविधि र चर्तिकलाले प्रधानमन्त्री पदको कुर्सी हल्लिएको आभाष गरेको हुनुपर्छ ।

ओलीले सरकारलाई असहयोग गर्ने आफ्ना दलका नेताहरूलाई तह लगाउन नेपाली कांग्रेससँग सहकार्यको हात अगाडि बढाउन तयार रहेको बताएका छन् ।

ओलीको सार्वजनिक यो अभिव्यक्तिका विषयमा नेपाली कांग्रेसले यो समाचार तयारपार्दासम्म प्रतिक्रिया दिएको छैन । तर, नेपाली कांग्रेसका सभपाति शेरबहादुर देउवासहितका नेताहरूले ओली नेतृत्वको कम्युनिस्ट सरकार देशको विकास र समृद्धि तथा संविधानको सहि कार्यान्वयनमा अगाडि बढ्ने हो भने सधै रचनात्मक सहयोग पाउने बताउँदै आएका छन् ।

काठमाडौंमा आइतबार राष्ट्रिय श्रम तथा रोजगार सम्मेलनको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले विकासका लागि सरकार प्रतिपक्षसँग सहकार्य गर्न तयार रहेको बताए थिए ।

ओलीले सत्ता पक्ष र प्रतिपक्ष भनेको आवधिक कुरा भएको उल्लेख गरेका छन् । ‘सत्ता प्रतिपक्ष भनेको आवधिक कुरा हुन् । विकास र समृद्धि सबैको आवश्यकता हो’, उनले भने, ‘देश विकासका लागि सरकार प्रतिपक्षसँग मिलेर काम गर्ने उत्कृष्ट अभिलासामा छ ।’

कम्युनिस्ट प्रधानमन्त्री ओलीले भावी सन्ततीले अहिले जस्तो गरिबीको सामना गर्नुपर्ने स्थितिको अन्त्य गर्नुपर्ने बताएका छन् ।

‘भावी सन्ततीलाई पनि यही गरिबीको स्थिति कायम राख्ने होइन । बेरोजगारी कै अवस्थामा राख्ने होइन’, ओलीले भने, ‘मेरो कार्यकाल टुंगिदा बेरोजगारीको अवस्थामा परिवर्तन ल्याउछु ।’

ओलीले प्रमुख प्रतिपक्ष दल भनेर सम्बोधन गरेपनि नेपाली कांग्रेसको नाम भने लिएनन् । तर, उनको अभिव्यक्तिको लक्ष्य भने नेपाली कांग्रेससँग मिलेरै अगाडि बढ्ने थियो ।

नेकपाका दोस्रो तहका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहितका केही नेताहरूले ओली सरकारविरुद्ध असहयोगात्मक गतिविधि र हर्कतहरू शुरू गरेपछि आत्तिएका प्रधानमन्त्री ओलीले कांग्रेसलाई आफ्नो बचाउको कार्डका रुपमा प्रयोग गर्न खोजेका छन् ।

नेपाली कांग्रेसपनि राष्ट्रिय जागरण अभियानपछि आक्रामक रुपमा प्रस्तुत हुँदै आएको छ । सडक र सदन दुबैतिर नेपाली कांग्रेसले ओली नेतृत्वको कम्युनिस्ट सरकारलाई घेराबन्दीमा पार्दै आएको छ ।

नेपाली कांग्रेसको विरोध र आलोचनाभन्दा पनि ओलीलाई आफ्नै दलका नेताहरूको असहयोग र आलोचनाले चिन्तित बनाएको नेकपाकै नेताहरूको भनाइ छ ।

प्रचण्डलाई सहयोग मिल्ने गरेर वरिष्ठ नेता माधवकुमार नेपाल, बामदेव गौतम, नारायणकाजी श्रेष्ठ, हरिबोल गजुरेल, जनार्दन शर्मासहितका नेताहरू ओलीलाई भित्री रुपमा असहयोग गर्दै आएको स्रोतको भनाइ छ । उनीहरूको असहयोगका बारेमा ओली जानकार छन् ।

ओलीले आफ्नै पार्टीभित्रका विरोधी नेताहरूलाई कसरी साइजमा राख्न सकिन्छ भनेर राम्रो जानकारी राख्छन् । सोही कारण पनि ओलीले प्रमुख विपक्षी दल नेपाली कांग्रेससँग मिलेर जान तयार रहेको भनेर अभिव्यक्ति दिएको हुन सक्ने विश्लेषण गर्न थालिएको छ ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग केही दिन अगाडि ललितपुरका सानेपा हाइटमा रहेको समिट होटेलमा गोप्य रुपमा भेटेका प्रचण्डका गतिविधिबाट ओली रिसाएका छन् । देउवासँग प्रचण्डको भेटलाई निस्तेज पार्नका लागि पनि ओलीको यो अभिव्यक्ति आएको हुन सक्छ ।

नेपाली कांग्रेसप्रति सधै कठोर बन्दै आएका प्रधानमन्त्री ओलीले आइतबार सहकार्य गर्न तयार रहेको भनेर दिएको अभिव्यक्तिले केन्द्रीय राजनीतिमा हलचल ल्याइदिएको छ ।

अबका केही दिनसम्म ओलीको यही अभिव्यक्तिमा केन्द्रित रहेर टिकाटिप्पणी र बहस हुनेछन् ।

नेपाली कांग्रेसले ओलीको यो अभिव्यक्तिलाई कसरी लिन्छ हेर्न बाँकी छ । तर, राजनीतिक जानकारहरूका अनुसार नेपाली कांग्रेसले ओलीको बोलीमा भन्दा पनि व्यवहारलाई हेर्नुपर्ने सुझाव दिएका छन् ।

नेपाली कांग्रेसका नेताहरूले ओलीको यो अभिव्यक्तिका बारेमा गहन अध्ययन र छलफल गरेर मात्रै प्रतिक्रिया दिनुपर्ने शुभेच्छुकहरू बताउँछन् ।

Published : Sunday, 2019 June 30, 11:27 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया