नवराज सिलवालको चर्तिकलाले नेकपा दिक्क, कांग्रेसका राणा कार्यकर्तासँग हिलोमा

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद नवराज सिलवालले धान दिवसका अवसरमा आफ्ना दलका कार्यकर्ताहरूसँग खेतमा खिचाएको तस्वीर भाइरल बनेको छ । तस्वीर देखिएका सिलवालको सबैले आलोचना गरेका छन् ।

ललितपुर क्षेत्र नं. १ बाट प्रतिनिधि सभा निर्वाचनमा तत्कालीन एमालेबाट विजयी भएका सिलवालले असार १५ गते धान दिवसका दिन खेतमा हातमा सेतो पञ्जा लगाएर रोपइ गरे जस्तो गरी तस्वीर खिचाएकोमा आलोचित बनेका हुन् ।

उनकै पार्टीका शीर्ष नेताहरू परम्परागत रुपमा खेतमा प्रवेश गरेर रोपाइ गरेर धान दिवस मनाएका छन् । आफ्नै पार्टीका कार्यकर्ता र नेताहरूसँग घुलमिल गर्न धेरै रुचि नराखेको भनेर आलोचना खेप्दै आएका सिलवालको आइतबार धान दिवसका अवसरमा सार्वजनिक भएको तस्वीरले झन् आलोचित बनाएको छ ।

नेकपाका सांसद सिलवाल कालो पार्टी शू, हातमा सेतो पञ्जासहित खेलको आलीमा बसेर रोपिएको धानको दुई सरो बेर्नालाई छोएर तस्वीर खिचाएका छन् । सिलवालका दलका केही महिला कार्यकर्ताहरूले पनि धानका बेर्नालाई छोए जस्तो गरेर टाढैबाट हात देखाएका छन् ।

उता, सिलवालसँग पराजित भएका नेपाली कांग्रेसका नेता एवम् पूर्वअर्थ राज्यमन्त्री उदयशम्शेर राणा भने आफ्नो दलका कार्यकर्ताहरूसँग खेतभित्र प्रवेश गरेर धान दिवस मनाएका छन् ।

हिलोको प्रवाह नै नगरी नेपाली कांग्रेसका युवा नेता राणाले कार्यकर्तासँग रमाइलो गरेर धान दिवस मनाएका थिए ।

नेपाली प्रहरीको आईजीपी बढुवा काण्डमा कीर्ते गरेको अभियोग लागेका सिलवालले जागिर छाडेर तत्कालीन एमालेमा प्रवेश गरेका थिए । कीर्ते काण्डमा सिलावललाई पक्राउ गर्न पुर्जी जारी भएका बेला उनी भूमिगत समेत भएका थिए ।

प्रहरीको आईजीपी बढुवा काण्डमा विवादित बनेका सिलवाललाई गृहमन्त्री बनाउने भनेर निर्वाचनका बेला चर्चा समेत गरिएको थियो ।

सिलवाललाई खड्गप्रसाद ओलीले पार्टीको तर्फबाट टिकट दिएर ललितपुर क्षेत्र नं. १ बाट निर्वाचित गराएका थिए ।

नेकपाका सांसद नवराज सिलवाल
नेपाली कांग्रेसका युवा नेता उदय शम्शेर राणा
Published : Sunday, 2019 June 30, 9:33 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया