कांग्रेसलाई धाेका दिँदा आफै फसे प्रचण्ड, प्रधानमन्त्री र अध्यक्ष दुबै नपाउने

काठमाडौं । नेपाली कांग्रेससँगको सहकार्य तोडेर तत्कालीन एमालेसँग सहकार्य गरी प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा फड्को मारेका पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफूलाई फेरि पनि केही हतारो भएको संकेत गरेका छन् ।

प्रचण्डले फेरि पनि व्यक्तिगत स्वार्थ पूरा गर्न नेपाली कांग्रेसकाे साथ खाेजेका छन् । भरतपुर महानगरपालिकामा रेणु दाहाललाई जिताउँदा र प्रदेश तथा प्रतिनिधि सभा निर्वाचनमा प्रचण्डसँग धाेका पाएकाे नेपाली कांग्रेस यस पटक साथ नदिने पक्षमा पुगेकाे छ ।

प्रचण्डले कांग्रेसलाई देखाएर उदेश्य पूरा गर्ने सपनालाई यस पटक गम्भीर असर पर्ने देखिएकाे छ । कांग्रेसलाई धाेका दिँदाकाे सजाय प्रचण्डले भाेग्न शुरू गरेकाे चर्चा हुन थालेकाे छ ।

प्रचण्डका सार्वजनिक अभिव्यक्तिहरूले त्यो संकेत गरिरहेको छ । चितवनमा पुगेर प्रचण्डले नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवम् प्रधानमन्त्री खड्गप्रसाद ओलीप्रति लक्षित गरेर अभिव्यक्ति दिइरहेका छन् ।

मंगलबारको एउटा सार्वजनिक कार्यक्रममा प्रचण्डले आफूलाई भावी प्रधानमन्त्रीका रुपमा ब्याख्या नगर्न आग्रह गरे । भावी प्रधानमन्त्री भनेर सम्बोधन गर्दा समस्या आउने भन्दै उनले यसको धेरै चर्चा गरेमा झन समस्या आउन सक्ने बताए ।

प्रचण्डले भने,‘जीतनारायणजीले प्रधानमन्त्री हुन लागेको भनि भन्नुभयो, हुन लाग्यो भनेर धेर चर्चा गर्‍यो भने झन् हुने कुरा पनि फुस्किन सक्छ ।’ कार्यक्रममा चितवन कांग्रेसका सभापति जितनारायण श्रेष्ठले प्रचण्डलाई भावी प्रधानमन्त्रीका रुपमा सम्बोधन गरेपछि प्रचण्डले पनि मुख मिठ्याएका थिए ।

प्रचण्डले चितवनमा आफू निकटका नेताहरूसँग पार्टी एकता हुँदाको सहमति कार्यान्वयन हुन नसकेको भनेर चिन्ता जनाएका थिए । पूर्वसहमति अनुसार ओलीले सरकारको नेतृत्व लिने तथा प्रचण्डले पार्टीको नेतृत्व सम्हाल्ने सहमति भएको थियो ।

डेढ वर्ष हुँदा पनि ओलीले सहमति कार्यान्वयनतिर ध्यान नदिएपछि प्रचण्डले आफूलाई डिफेन्समा प्रस्तुत गरेका छन् । बाहिर चर्चा जे भएपनि प्रचण्डले ओलीविरुद्ध बगावत गर्न सक्दैनन् । ओलीको कार्यशैलीबाट जानकार रहेका प्रचण्डका लागि आउँदा दिन झन् कठिन हुने पक्का छ ।

सरकारको कार्यशैलीको विरोध र पार्टी समायोजनको कुरा उठाएर प्रचण्डले आफ्नो व्यक्तिगत उदेश्य पूरा गर्ने तयारी गरेपनि प्रधानमन्त्री बन्ने सोचमा प्रचण्ड छन् भन्ने ब्याख्या मिल्दो जुल्दो भने छैन ।

ओलीलाई चिढ्याएर प्रधानमन्त्री बन्नु भनेको प्रचण्ड पनि धेरै दिन प्रधानमन्त्रीमा रहन्छन् भन्ने छैन । ओलीले आफूलाई अप्ठ्यारोमा पारेर प्रचण्डलाई सत्ताको बागडोर दिने अवस्था आयो भने प्रधानमन्त्रीमा अरु नेताहरूलाई अगाडि बढाउन सक्छन् ।

नेकपाका एक नेताका अनुसार ओलीले प्रचण्डलाई साइजमा राख्न धेरै अस्त्रहरू फ्याक्न सक्छन् । ओलीले प्रधानमन्त्रीका रुपमा वरिष्ठ नेता माधवकुमार नेपाल, सुवासचन्द्र नेम्वाङ, विष्णु पौडेलसहितका नेताहरूलाई अगाडि सार्ने सम्भावना पनि उत्तिकै छ ।

प्रचण्डकै कारण अहिले नै सरकार ढल्ने सम्भावना निकै कम छ । प्रचण्डले आफ्ना परिवार र व्यक्तिगत स्वार्थका लागि ठूला निर्णयहरू लिँदै आएका छन् । यस पटक प्रचण्डका लागि सहज अवस्था छैन ।

प्रचण्डलाई पार्टी विभाजन गर्ने अवस्था पनि छैन । संविधानको व्यवस्थाले पार्टी विभाजन गर्न प्रचण्डलाई सहज छैन । मध्यावधीको अवस्था पनि देखिदैन ।

त्यही भएर राजनीतिक रुपमा बाहिर भएका सबै हल्लाहरू प्रचण्डले फैलाइएका अफबाहहरू भएको नेकपा स्रोत बताउँछ । प्रचण्ड अहिले कसै गरी भएपनि पार्टीको नेतृत्व हत्याउन चाहन्छन् ।

प्रचण्डकाे खेल बुझेका ओलीले तत्काल प्रधानमन्त्री र अध्यक्ष पद दुबै नदिने याेजनामा पुगेकाे एक नेताले बताए । प्रचण्डले तत्काल दाेस्राे तहकाे अध्यक्षमै चित्त बुझाउनुपर्ने अवस्था सिर्जना भएकाे छ ।

Published : Thursday, 2019 June 27, 7:05 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया