वाइड बडी काण्ड सेलाउन नपाउँदै कम्युनिस्ट सरकारले बोइङ बेच्न लाग्यो

काठमाडौं । वाइड बडी जहाज खरिद काण्ड सेलाउन नपाउँदै खड्गप्रसाद ओली नेतृत्वको कम्युनिस्ट सरकारले नेपाल वायु सेवा निगमको बोइङ ७५७ सिरिजको ‘गण्डकी’ जहाज बेच्न बोलपत्र आह्वान गरेको छ ।

निगमले जहाज बेच्न बुधबार अन्तर्राष्ट्रिय बोलबत्र आह्वान गरेको छ । ३२ वर्ष पुरानो बोइङ ७५७ एसीबी सिरिजको जहाज बिग्रिएर ५ महिनादेखि ग्राउन्डेड छ ।

गण्डकी नामक जहाज १ सय ९० सिट क्षमताको छ । जहाज किन्नका लागि ४५ दिनभित्र बोलपत्र भर्नुपर्नेछ ।

बोलपत्र भर्नेले ३ करोड ८४ लाख रुपियाँभन्दा धेरै रकम बैंक ग्यारेन्टी राख्नुपर्ने बोलपत्रमा उल्लेख छ ।

निगमले बोइङ ५७७ सिरिजका २ वटा जहाज सन् १९८७ मा र १९८९ मा किनेको थियो ।

यही सिरिजको अर्को ‘कर्णाली’ नामको जहाज निगमले दुई वर्षअघि नै हाल गैरआवासीय नेपाली संघका अध्यक्ष रहेका भवन भट्टलाई बेचेको थियो ।

बिक्री भएको जहाज अहिलेसम्म पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमै ग्राउण्डेड छ ।

यी दुई जहाजमार्फत निगमले आफ्नो स्वर्ण युगमा फ्रयांकफर्ट, लण्डन, पेरिस, टोक्यो र संघाईसम्म उडान गरेको थियो ।

बोइङ कम्पनीको यो जहाज बिक्रीपछि नेपाल वायुसेवा निगमसँग एअरबस कम्पनीमा मात्रै जहाज हुनेछन् ।

निगमले ४ वर्षअघि एअरबस ३२०–२२० सिरिजका २ वटा जहाज किनेको थियो ।

गएको वर्ष एअरबसकै ३३०–२०० सिरिजका २ वटा वाइडबडी जहाज किनेको छ ।

एअरबसको जहाज बिक्रीपछि निगमसँग अन्तर्राष्ट्रिय उडानको लागि एअरबसका ४ वटा मात्रै जहाज रहनेछन् ।

Published : Wednesday, 2019 June 26, 7:22 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया