प्रकाशमान सिंहद्वारा काठमाडौं कांग्रेस कब्जा, देउबा–पौडेल–सिटौला समूह आउट

काठमाडौं । नेपाली कांग्रेस जिल्ला कार्यसमितिले सदस्यहरूबाटै तीन जनालाई पदाधिकारीमा बढुवा गरेको छ ।

बुधबार काठमाडौंमा बसेको जिल्ला कार्यसमितिको बैठकले उपसभापतिमा विजय मालीलाई बढुवा गरेको जिल्ला सभापति सबुजकृष्ण बानियाँले जानकारी दिए । उनका अनुसार सचिवमा शंखर मल्ल ठकुरी र सह–सचिवमा रोमेल श्रेष्ठलाई बढुवा गरिएको छ ।

सभापति बानियाँको सभापतित्वमा बुधबार बसेको जिल्ला कार्यसमितिको बैठकमा पदाधिकारी र सदस्य गरी ४५ जनाको उपस्थिति रहेको थियो ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति हाल ६३ सदस्यीय रहेको छ । सभापति बानियाँका अनुसार अझै दश जना सदस्य मनोनीत गर्न बाँकी रहेको छ । सदस्यहरूलाई पदाधिकारीमा बढुवा गरिएको विषयमा कसैको पनि असहमति नरहेको सभापति बानियाँले बताए । उनले कुनै पनि गुटले अबरोध नगरेको बताए ।

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंह निकटका बानियाँले एकलौटी रुपमा कार्यसमिति कब्जा गरेको भन्दै असन्तुष्टि बढेको छ ।

सभापति शेरबहादुर देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल र नेता कृष्णप्रसाद सिटौला समूहका नेताहरूलाई पाखा लगाएर कार्यसमितिका सदस्यहरूलाई पदाधिकारीमा बढुवा गरेको भन्दै असन्तुष्टि बढेको हो ।

सभापति देउवाले केन्द्रमा एकलौटी गरेको भनेर आरोप लगाउँदै आएका नेता सिंहले काठमाडौं जिल्ला कार्यसमितिमा देउवा, पौडेल र सिटौला समूहलाई ठाउँ दिएका छैनन् ।

नेपाली कांग्रेस जिल्ला कार्यसमिति काठमाडौंका एक जना सदस्यका अनुसार नेता सिंहले एकलौटी रुपमा काठमाडौं कांग्रेसलाई कब्जा गरेका छन् । ‘सभापति शेरबहादुर देउवाले कांग्रेस बिगा¥यो भनेर गुटको बैठक र भेला गर्ने’, ती सदस्यले नाम उल्लेख नगर्ने सर्तमा भने, ‘आफूले अबसर पाउँदा काठमाडौं जिल्ला कार्यसमितिलाई घरभित्रको संगठन जस्तो बनाउने ? यो कहाँको न्याया हो ? प्रकाशमान सिंहले मात्रै बनाएको कांग्रेस हो ? गणेशमान सिंहको छोरो हुँ भन्दैमा सामन्ती व्यवहार देखाउन पाइँदैन ।’

सदस्यबाट पदाधिकारीमा बढुवा भएकाहरूले बुधबार बिहान ठमेलको चाक्सीबारीस्थित नेता सिंहको घरमा पुगेर आशीर्वाद लिएका छन् । आशीर्वाद लिन सभापति बानियाँ पनि पुगेका थिए ।

Published : Wednesday, 2019 June 26, 12:12 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया