कम्युनिस्टले जस्ताे कांग्रेसले देश र जनताप्रति कहिल्यै घात गर्दैनः गगन थापा

गोरखा । नेपाली कांग्रेसका युवा नेता गगन थापाले देशमा विप्लवबाट भन्दा कम्युनिस्ट सरकारबाट धेरै खतरा रहेको बताएका छन् ।

नेपाली कांग्रेसले गोरखाको पालुङटारमा शनिबार आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै थापाले कम्युनिस्टहरूलाई विश्वास गर्न नसकिने बताए ।

‘धार्मिक यात्रा गरिरहेका राजा र बैकल्पिक शक्ति भन्ने विप्लपबाट भन्दा बढी खतरा छ भने सरकारबाट संविधानमाथि ठूलो खतरा छ’, उनले भने।

नेपाली कांग्रेसको नेतृत्वमा संविधान बनेको र शान्ति प्रक्रियाको बाटो पनि कांग्रेसले थालनी गरेको बताउँदै युवा नेता थापाले संविधान बनाएर कांग्रेसले हालेको जग अहिले कम्युनिस्ट सरकारले भत्काउन थालेको आरोप लगाए ।

‘संविधान बनाएर जग हाल्यौँ, अहिले एक तलाको घर बनाउन जिम्मा कम्युनिस्टलाई जनताले दिए । तर, घरको तला थप्न छाडेर सरकारले अहिले जग खन्न तिर लाग्यो’, उनले भने, ‘घर बनाउने जिम्मा पाएको पार्टीले आधारभुत काम पनि गर्न सकेन ।’

सरकारले संविधान, लोकसेवा आयोग, कानून, अदालत केही नमानेको थापाको भनाइ छ ।

सरकारले ल्याएको मिडिया काउन्सिल विधेयक प्रेससँग मात्रै जोडिएको विषय नभई आम नागरिकको अभिव्यक्ति स्वतन्त्रतासँग जोडिएको भन्दै कुनै पनि हालतमा लागु हुन नदिने बताए ।

अर्थतन्त्रलाई गती दिन नसक्नु, शान्ति सुरक्षा कायम गर्न नसक्नु तथा भ्रष्टाचारलाई सरकारले प्रशय दिएको बताउँदै नेपाली कांग्रेसका केन्द्रीय सदस्य थापाले सरकार संविधानले दिएको अधिकार खोस्न लागिपरेको बताए ।

आम जनजिविकासँग जोडिएका विषयमा सरकारले चासो नदिएको थापाको भनाई थियो ।

सरकार चलाइरहेको नेपाल कम्युनिस्ट पार्टीको कुनै सिद्धान्त नभएको बताउँदै उनले भने, ‘डेढ वर्ष अघि जन्मिएको पार्टीको कुनै सिद्धान र इतिहास छैन, अहिले यसै अलमलिएको छ ।’

प्रधानमन्त्री खड्गप्रसाद ओलीमा आफूलाई भन्दा धेरै कसैलाई थाहा छैन भन्ने भावना रहेको बताउँदै उनले सबैभन्दा धेरै अनुकुलता पाउँदा पनि प्रधानमन्त्रीले केही गर्न नसकेको बताए ।

प्रतिपक्ष कमजोर भएका बेला सरकारलाई काम गर्न सहज हुने र जनताको चाहना अनुसार काम गर्न सुझाब दिँदै केन्द्रीय सदस्य थापाले ‘भष्ट्राचार गर्दिन भन्ने प्रधानमन्त्री तर वाइडवडी खाने, बुढीगण्डकी खाने र बालुवाटार पिउने सँगै छन् ।’

कांग्रेसले देश र जनताप्रति कहिल्यै घात नगरेको बताउँदै थापाले पार्टीभित्रको एजेण्डाका बारेमा आन्तरिक बैठकमा छलफल गरेर सुधार गरेर जानुपर्ने बताए ।

कांग्रेस सह–महामन्त्री डा.प्रकाशरण महतले अबको कांग्रेसको अभियान कम्युनिस्ट मुक्त सरकार बनाउने रहेको बताए ।

उनले भने, ‘नेपालमा अपवाद र जात्रा भइरहेको छ । प्रधामन्त्री समृद्ध नेपाल सुखी नेपाली बनाउने भन्नुहुन्छ तर जनता कोही खुसी छैनन ।’

कांग्रेसभित्र व्यक्तिवादी प्रवृत्ति भएकाले त्यसलाई हटाउनुपर्ने बताउँदै उनले कमजोर पार्टीको सभापति हुन भन्दा बलियो पार्टीको कार्यकर्ता हुने गरी अगाडि बढ्न कार्यकर्तालाई सुझाब दिए ।

Published : Sunday, 2019 June 23, 9:44 am

फेसबुकबाट तपाईको प्रतिक्रिया