ओलीले भनेका मूर्ति चोर भैँसेपाटीतिर भेटिए

काठमाडौं । आठ दिने युरोप भ्रमण सकेर फर्किएका प्रधानमन्त्री एवम् नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समय आफूलाई असुरक्षित ठानेका छन् ।

प्रधानमन्त्री ओली कुन समूहबाट असुरक्षित भएका हुन् भन्ने कुरामा आफै स्पष्ट भने हुन सकेका छैनन् । तर, उनको आशंकालाई पुष्टि हुने गरेर नेकपाभित्रै गतिविधि नभएका भने होइनन् । ओलीले मंगलबारको पत्रकार सम्मेलनमा ‘मूर्ति चोर’हरूले सरकार ढाल्ने असफल प्रयास गरे भनेका छन् । उनको संकेत नेपाली कांग्रेसलाई पक्कै होइन ।

ओलीले भनेको ‘मूर्ति चोर’ पूर्वगृहमन्त्रीहरू वा यस्तै खालका व्यक्तिलाई भनेको हुनुपर्छ । चाहे जे भएपनि ओलीको संकेत नेकपा भित्रकै आफ्ना विरोधीहरुप्रति नै हो भनेर धेरैले अड्कलबाजी गरेका छन् ।

त्यसो त ओली युरोप भ्रमणमा रहेका बेला नेकपाका नेता बामदेव गौतमले गोप्य वार्ता र बैठकहरू राखेका थिए । त्यति मात्रै होइन गौतमले सार्वजनिक रुपमै माओवादी केन्द्रसँग भएको सहमति कार्यान्वयन भएन भने सरकार ढल्छ भनेका थिए । गाैतम ललितपुरकाे भैँसेपाटीतिर बस्छन् । उनले गाप्य बैठकहरू गरेकाे चर्चा पनि छ ।

नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सहमति अनुसार पार्टीको नेतृत्व नदिएको भनेर ओलीसँग असन्तुष्ट बनेका छन् । ओली र प्रचण्डबीच पार्टी एकता र सहमतिका विषयमा राम्रोसँग कुराकानी हुन नपाएको नेकपाकै एक नेता बताउँछन् ।

नेपाली कांग्रेसले रोष्टम (ह्वेल) घेराउ गरेपछि बोल्न नपाएका ओली रोष्टमबाट तल झरेपछि प्रचण्डले नै ओलीलाई हात मिलाएर साथ दिएका थिए । बोल्न नपाएपछि रिसले कालोनिलो बनेका ओलीले प्रचण्डसँग पनि धेरै कुरा नगरी बाहिरिएका थिए ।

स्रोतका अनुसार झण्डै दुई सातासम्म ओली र प्रचण्डबीच सौहार्दपूर्ण रुपमा कुराकानी हुन सकेको थिएन । उनीहरूको सम्वादहीनता मंगलबार तोडियो । पछिल्लो पटक गत जेठ २३ गते नेकपा सचिवालयको बैठकमा देखभेट भएका ओली र प्रचण्डबीच त्यसयता राम्रोसँग कुराकानी नभएको स्रोतले जनाएको छ । युरोपको आठ दिने भ्रमण सकेर असार १ गते नेपाल फर्किएपछि ओलीले गुठी विधेयकबारे परामर्श गरेका थिए ।

सोमबार उपत्यकाका सांसद र स्थानीय तहका जनप्रतिनिधिसँग पार्टी अध्यक्षको समेत हैसियतमा छलफल गरेका ओलीले दोस्रो तहका अध्यक्ष प्रचण्डलाई बैठकमा बोलाएनन् ।

सोमबार नै पार्टी कार्यालय धुम्बाराहीमा भएको माओवादी युद्धको बेला मारिएका रितबहादुर खड्काको १७औं स्मृति कार्यक्रम थियो । सो कार्यक्रममा ओली आएनन् । प्रचण्ड प्रमुख अतिथि भएर कार्यक्रम गरेका थिए । ओली माओवादीका कार्यक्रमहरूमा खासै जाँदैनन् ।

सोही कार्यक्रममा सहभागी भएका प्रचण्ड पनि त्यहाँबाट सचिवालयकै अर्का सदस्य माधवकुमार नेपाललाई भेट्न कोटेश्वरमा पुगेका थिए । कोटेश्वरमा निकैबेर बसेका प्रचण्डले प्रधानमन्त्री ओलीको कार्यशैलीका बारेमा नेता नेपालसँग गुनासो गरेका थिए ।

प्रचण्डले पार्टी एकीकरणका बेला भएको सहमति कार्यान्वयन हुनुपर्ने सार्वजनिक रुपमा बताउँदै आएका छन् । पार्टी संगठन विभागलगायत जिम्मेवारी बाँडफाँटका विषयमा दुई नेताबीच मतभेद छ ।

प्रचण्डले ओलीसँग साढे दुई वर्षमा आलोपालो प्रधानमन्त्री चलाउने सहमति भएको बताउँदै आएका छन् । तर, प्रधानमन्त्री ओलीले त्यो सहमति कार्यान्वयन गर्न नचाहेको नेकपाकै अधिकांश नेताहरुले बताउँदै आएका छन् ।

Published : Thursday, 2019 June 20, 1:20 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया