ओली र कांग्रेसलाई संसदमा उत्तेजित बनाउने नेताकाे पहिचान

काठमाडौं । सभामुख कृष्णबहादुर महरालाई भद्र नेताको रुपमा लिइन्छ । महरालाई नेपाली कांग्रेसका नेताहरूले पनि राम्रो मान्छन् । तर, राजनीतिक रुपमा उनले आफ्नो दलको निर्देशन मान्नु स्वभाविक पनि हो ।

उनले नेपाली कांग्रेसलाई भन्दा पनि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) र दुई तिहाइको बहुमतको सरकारको आदेश मान्नुपर्ने बाध्यता छ । तैपनि महराले सबैलाई मिलाएर लैजान खोज्दै आएका छन् । संसदमा के–के गर्दा र नगर्दा आफूलाई अफ्ठ्यारो पर्छ भन्ने कुरा महरालाई राम्रोसँग जानकारी छ ।

तैपनि बाध्यतामा परेर सभामुख महरा विवादमा परिरहेका छन् । महराको अफ्ठेरो अवस्थालाई नेपाली कांग्रेसका नेताहरूले बुझेका छन् । महरालाई साथ दिने बहानामा नेपाली कांग्रेसका नेताहरूले पनि पार्टी नीतिलाई ध्वस्त बनाउन चाहँदैनन् । धेरै नबोल्ने, कसैलाई पनि नचिढ्याउने स्वभावका महराको यो व्यवहारलाई कमजोरी ठानेर पूर्वएमाले पृष्ठभूमि भएका केही सीमित नेताहरूले बेलाबेला विवादमा ल्याइदिने गरेका छन् ।

सभामुख महरालाई सबैभन्दा ठूलो असहयोग एमाले पृष्ठभूमि भएका नेता र कर्मचारीहरूबाट छ । संसद सचिवालयका एमाले पृष्ठभूमि भएका कर्मचारीहरूले महरालाई ठूलै असहयोग गरिरहेका छन् । यो कुरा महरालाई थाहा छ । तैपनि उनले कमचारीहरूलाई चलाएका छैनन् । महराको यही स्वभावले गर्दा संसद सचिवालयका कर्मचारीहरू साँढे बन्दै गएका छन् ।

सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का संसदीय दलका उपनेता सुवासचन्द्र नेम्बाङले सभामुख महरालाई असहयोग गर्दै आएका छन् । नेम्वाङले महराविरुद्धका सूचना पत्रकारलाई दिनेदेखि महरालाई गलत सुझाव र सल्लाह दिने गरेको स्रोतले जनाएको छ । मंगलबारको संसदको बैठकमा नेपाली कांग्रेसलाई उत्तेजित बनाउने कार्यमा नेम्वाङको ठूलै हात रहेको चर्चा चलेको छ । नेकपाकै सांसदहरूले पूर्वसभामुख रहेका नेम्वाङले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई उकासेर संसदमा बोल्न सुझाव दिएका थिए । नेम्वाङको उक्साहटमा परेका ओलीले संसदमा बोल्ने समय मागे ।

तर, ओलीलाई के थाहा थिएन भने संसदको कार्यव्यवस्था समितिको बैठकबाट प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको संसदीय दलका नेता शेरबहादुर देउवाले शुरुमै बोल्ने समय लिएका छन् भन्ने कुरा । देउवाले आफूलाई संसदमा बोल्ने समय दिएर एकाएक ओलीलाई अगाडि बोल्ने स्थानमा राखेपछि उनी आक्रोशित भएका थिए । यो कुरा चाल पाएर नेपाली कांग्रेसका प्रमुख सचेतक बालकृष्ण खाँणसहितका नेताहरूले विरोध गरे । पूर्व सहमति विपरित देउवालाई पहिला बोल्न नदिएर ओलीलाई बोल्न दिए सदन अवरोध हुन्छ भनेर सूचना पनि दिइएको थियो ।

तैपनि प्रधानमन्त्री ओली र नेम्वाङको अघोषित दवावमा परेका सभामुख महराले निर्धारित समयभन्दा केही ढिला गरेरै भएपनि सदन अगाडि बढाए । महरालाई सदन अबरोध हुन्छ भन्ने थाहा थियो । देउवालाई रोकेर उनले ओलीलाई समय दिए । त्यसपछि नेपाली कांग्रेस नारावाजी गर्दै ह्वेल घेराउ गर्न पुग्यो । यो सबै विवादको जड नेम्वाङ रहेको माओवादी पृष्ठभूमि भएका नेकपाका सांसदहरूले बुधबार खुलेरै पत्रकारहरूसँगको अनौपचारिक कुराकानीमा भनेका छन् ।

सभामुख महरालाई सफल हुन नदिने रणनीतिमा नेम्वाङ शुरूदेखि नै लाग्दै आएको उनीमाथि आरोप लागेको छ । नेम्वाङले एमाले पृष्ठभूमि भएका निकटका कमर्चारीहरूलाई संसदीय दलको कार्यालयमा तानेका छन् । बाँकी रहेका कर्मचारीहरूलाई संसद सचिवालयका राम्रा शाखाहरूमा सुरुवा गरिदिएका छन् । नेम्वाङको यो गतिविधि र अभियानमा राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले साथ दिएको स्रोतको भनाइ छ । (यूनाइटेड पाेष्ट साप्ताहिकबाट)

Published : Thursday, 2019 June 20, 12:57 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया