राजकिशोरले सुनाए ओलीलाई हस्तिनापुरको कथा, उथलपुथलको सकंते

काठमाडौं । विपक्षी दल राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)का सांसद राजकिशोर यादवले मुलुकमा छिट्टै राजनीतिक उथलपुथल हुने संकेत गरेका छन् ।

बिहीबार संसदको बैठकमा विशेष समय लिएर बोल्दै सांसद यादवले सरकारको गलत रबैया र गतिविधिका कारण देशमा राजनीतिक उथलपुथलको अवस्था आउन लागेको बताए । उनले भने, ‘अब छिटै राजनीतिक उथलपुथल हुँदै छ । यसको संकेतहरू आउन थालिसकेका छन् ।’

माइतीघर मण्डलामा बुधबार भएको प्रदर्शनको प्रसंग कोट्याउँदै राजपाका सांसद यादवले भने, ‘प्रधानमन्त्रीजीले माइतीघरको सन्देशलाई बुझ्नु पर्छ । त्यसलाई बुझ्न सकिनए भने ठूलो दुर्घटना हुनेछ ।’

संसदमा जनप्रतिनिधिहरूले उठाएका कुराको सुनुवाई नहुने गरेको भन्दै सांसद यादवले मागहरू सम्बोधन भएन भने त्यसले अर्कै रुप लिन सक्ने बताए ।

सांसद यादवले महाभारतको कथा सुनाउँदै समृद्ध हस्तिनापुर पनि गलत सोँच र निर्णयले गर्दा समाप्त भएको बताए । उनको यो कथा प्रधानमन्त्री खड्गप्रसाद ओलीलाई थियो ।

दुईतिहाइको दम्भ नगर्न ओली र नेकपाका नेताहरूलाई यादवले चेतावनी दिए ।

प्रधानमन्त्री ओलीले पत्रकार सम्मेलनमा ‘मूर्ति चोर’ भनेर दिएको अभिव्यक्तिको पनि सांसद यादवले आलोचना गरे ।

‘प्रधानमन्त्री जस्तो व्यक्तिले मूर्ति चोर भनेर कसलाई भन्नु भएको हो ? जिम्मेवार पदमा बसेको व्यक्तिले यस्ता गैर जिम्मेवार कुरा गर्न मिल्छ ?’, उनले भने, ‘यस्ता विषयमा संसदमा गम्भीर रुपमा छलफल हुनुपर्छ । सबै नेताहरू आफ्नो पदीय हैसियतअनुसार चल्नुपर्छ ।’

Published : Thursday, 2019 June 20, 12:31 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया