राजपाले पनि कम्युनिस्ट सरकारको सातो लियो

काठमाडौं । राष्ट्रिय जनता पार्टी नेपाल (राजपा)ले चौथो मधेस आन्दोलनको चेतावनी दिएको छ ।

संसदको बुधबारको बैठकमा बोल्दै राजपा नेपालका सांसद लक्ष्मणलाल कर्णले सडक आन्दोलनका लागि बाध्य नपार्न सरकारलाई सचेत गराए ।

कर्णले संविधान संशोधन, लाल आयोग प्रतिवेदन सार्वजनिक, लोकसेवा आयोगको विज्ञापन रद्द लगायतका माग गर्दे आएपनि सरकारले नसुनेको बताए ।

सरकारले रोष्टम घेराउ गरेपछि मात्रै बोल्ने असंसदीय पद्धति बसाएको आरोप उनको छ । ‘सरकार कुन बेला बोल्ने ? रोष्टम घेरेपछि मात्रै बोल्ने सरकारले एउटा सिस्टम बसाईराखेको रहेछ’, उनले भने, ‘संख्यागत रुपमा हामी जति भएपनि रोष्टम घेर्नका लागि हामी डराएको होइन । संस्कृति नबसोस् । संसद सुचारु रहोस् ।’

‘सुचारु रुपमा चलोस् भन्ने संसदीय मर्यादाको पालन ग¥या हो । सरकार यसै ढंगले जाने हो भने संसद अवरोध हुन्छ । हामी पनि रोष्टम घेराउ गर्दछौं’, कर्णले चेतावनी दिए ।

उनले संविधान विपरित लोकसेवा आयोगको विज्ञापन निकालेर सरकारले मधेसी समुदायमाथि फेरि तरबार चलाउने काम गरेको आरोप लगाए ।

सरकारका मन्त्रीले संसदीय समितिको निर्देशन नमानेर समितिको धज्जी उडाउने काम गरेको भन्दै उनले संसदीय मर्यादा कायम गराउने तर्फ सभामुखको गम्भीर ध्यानाकर्षण गराए ।

कर्णले संविधानले गरेको समानुपातिक समावेशी व्यवस्थाको कार्यान्वयन नगरेर सरकारले ‘चौथो मधेस आन्दोलन निम्त्याएको हो ?’, भनी प्रश्न गरेका छन् ।

‘के सोचेको हो यसले ? समानुपातिक समावेशी हामी खोस्न सक्छौ भन्ने सोचेको हो ? कसैले माने पनि राष्ट्रिय प्रजातन्त्र पार्टी मान्दैन । संसदमा सुन्दैन भने सडकमा जान्छ’, उनले भने ।

सत्तारुढ दलका सांसदहरुलाई विधेयकमाथि दोहोरो चरित्र नदेखाउन पनि कर्णले सुझाव दिए ।

‘हिजो माइतीघर मण्डलामा गएको थिएँ । सत्तापक्षका माननीयहरूले पनि विधेयक खारेज गर भनेर भाषण गरिराखेको देखेँ’, उनले भने, ‘सडक पनि सत्ताको राज्य पनि सत्ताको । प्रतिपक्ष कहा जाने भन्ने एउटा प्रश्न खडा भएको छ । म सोध्दै छु सरकारमा सम्मिलित माननीय ज्यूहरुलाई तपाईको सडक होइन सरकार हो किन प्रश्न उठाउनुभएन ? किन यस्तो विधेयक आयो ?’

Published : Wednesday, 2019 June 19, 9:32 pm

फेसबुकबाट तपाईको प्रतिक्रिया